सुनसरी । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा धरान–१३ की ज्योति शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीमाथि ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर अवैध रुपमा हुण्डी कारोबार गरेको आरोप लगाएको छ । ती खातामा उनले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको हो ।
शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा ‘शाही मनि ट्रान्सफर’ नाममा व्यवसाय दर्ता गरी कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सञ्चालन गरेको अनुसन्धानबाट खुलेको हो ।
ती खातामार्फत विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालमा स–साना रकममा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय माध्यमबाट असम्बन्धित व्यक्तिका खातामा रकम पठाउने तथा हुण्डी कारोबार गर्ने गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार उक्त कारोबारमार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले विहिबारसाँझ करिब धरान–५ खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved