Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोका आदित्य र पूजाले पाए ३ लाख नगद पुरस्कार

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजका दुई विद्यार्थीले राष्ट्रियस्तरको एक प्रतियोगिता जिती तीन लाख नगद हात पारेका छन् । 

कलेजका आदित्यकुमार साह र पूजा यादवको टोलीले ‘ह्याकाथन २०२६’ प्रतियोगितामा प्रथम भई उपाधि जितेका हो ।

चितवनमा आयोजित चारदिने प्रतिस्पर्धामा देशभरबाट सहभागी स्नातक तथा सोभन्दा माथिल्लो तहका विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले नगद ३ लाख रुपैयाँसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका छन् ।

वन्यजन्तु संरक्षण तथा सामाजिक प्रभावका लागि प्रविधिमा आधारित समाधान विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट आएका युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो । 

सहभागी टोलीहरूले समसामयिक चुनौती समाधानका लागि प्रविधिमैत्री अवधारणा र परियोजना प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धामा आदित्य र पूजाले प्रस्तुत गरेको नवीन सोच, समस्या समाधान क्षमता तथा प्राविधिक दक्षताले निर्णायक मण्डलको ध्यान आकर्षित गर्दै उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ ।

अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूको सफलता कलेजका लागि गौरवको विषय भएको बताउँदै यसले संस्थाको शैक्षिक गुणस्तर र नवप्रवर्तनमुखी वातावरणलाई थप पुष्टि गरेको उल्लेख गरे । 

उनका अनुसार विद्यार्थीहरूको यो उपलब्धि निरन्तरको मेहनत, सिर्जनशीलता र प्रविधिमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धताको परिणाम हो ।

View : 177

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved