विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोमबारबाट कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।
नेकपा सरकारमा प्रवेश गरेसँगै एमाले र नेकपाबीच गत साउन ९ गते भएको तीनबुँदे सहमति कोशी प्रदेशमा कार्यान्वयनमा आएको छ । मन्त्रालय बाँडफाँट टुंग्याउँदै नेकपाले चार मन्त्रालय र एक राज्यमन्त्रीसहित पाँच जनालाई सरकारमा पठाएको हो ।
सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरूलाई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यमन्त्रीलाई शपथ गराएका हुन् ।
नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी छन् ।
मोरङका जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, मोरङकै गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालय र सोलुखुम्बुका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नेकपाले सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा सरकारमा पठाएको छ । नेकपाबाट कोशी सरकारमा सहभागी भएका पाँच जनामध्ये तीन जना महिला छन् ।
नेकपा सरकारमा सहभागी भएपछि यसअघि एमालेका मन्त्रीहरूले सम्हाल्दै आएका केही मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गरिएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीकै जिम्मेवारीमा निरन्तरता दिइएको छ । यद्यपि मन्त्रालयको नेतृत्व भने पराजुलीले सम्हाल्नेछन् ।
एमालेका विदुरकुमार लिङ्थेपको आर्थिक मामिला तथा योजना मन्त्रालय र तिलचन पाठकको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी भने परिवर्तन गरिएको छैन ।
साउन ९ मा भएको तीनबुँदे सहमतिअनुसार केन्द्रमा बनेको राजनीतिक सहकार्यलाई प्रदेश तहमा समेत विस्तार गर्ने र सत्ता साझेदारी गर्ने समझदारी भएको थियो ।
नयाँ समीकरणअनुसार नेकपाले चार मन्त्रालय पाएको छ भने राज्यमन्त्रीसहित पाँच जना सरकारमा सहभागी भएका छन् ।
यससँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा एमालेसँगै नेकपाको औपचारिक सहभागिता भएको छ ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved