Biratnagar, Morang, Nepal
२६ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगर आँखा अस्पतालद्वारा एकै वर्षमा साढे ६ लाखको आँखा परीक्षण

उद्‌घोष संवाददाता
२५ असोज २०८३, आइतवार

Advertisement

विराटनगर ।विराटनगर आँखा अस्पतालले एक वर्षको अवधिमा ६ लाख ८८ हजार ४४६ जनाको आँखा परीक्षण गर्नुका साथै ६९ हजार ९३७ जनाको सफल शल्यक्रिया गरेको छ।

पूर्वी नेपालमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै आएको अस्पतालले आफ्नो २०औँ वार्षिकोत्सव समारोहका अवसरमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

‘उज्यालो दृष्टि, उज्ज्वल भविष्य’ भन्ने मूल नाराका साथ शुक्रबार आयोजित समारोहमा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, चिकित्सक तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको उपस्थिति  थियो।

अस्पतालले मुख्य उपचार सेवासँगै ग्रामीण क्षेत्र, बालबालिका तथा विपन्न समुदायलाई लक्षित गरी समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको  अस्पतालका व्यवस्थापक कुमार पृथुले बताए । 

 

विद्यालयमा आधारित कार्यक्रमअन्तर्गत अस्पतालले यस वर्ष २६९ विद्यालयका ४६ हजार ८३६ बालबालिकाको आँखा परीक्षण गरेको छ।अस्पतालका व्यवस्थापक कुमार पृथुले बताए । 

परीक्षणका क्रममा समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा, औषधि र सहुलियत दरमा शल्यक्रिया सेवा उपलब्ध गराइएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. चेतराज पन्तले सामान्य आँखा परीक्षणदेखि विशेषज्ञ उपचार र जटिल शल्यक्रियासम्म सेवा विस्तार गरेर अस्पतालले पूर्वी नेपालमा ठूलो योगदान पुर्‍याएको बताए।

यस्तै, विशिष्ट अतिथि सिबिएम युएसएका प्रतिनिधि टेरेसा बैरडले समयमै रोगको पहिचान, दृष्टि गुम्ने जोखिम न्यूनीकरण र उपचार सेवाबाट वञ्चित समुदायसम्म पहुँच पुर्‍याउनु प्राथमिक जिम्मेवारी रहेको उल्लेख गरिन्।

 

आईएसओ ९००१:२०१५ गुणस्तर प्रमाणित यस अस्पतालमा बालमैत्री जाँच कक्ष, अपाङ्गतामैत्री पूर्वाधार, मोड्युलर शल्यक्रिया कक्ष तथा कन्ट्याक्ट लेन्स उत्पादनजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।

उपचारका अतिरिक्त स्नातकोत्तर आवासीय कार्यक्रम, अप्टोमेट्री तथा उपविशेषज्ञ फेलोसिपलगायतका तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा समेत अस्पतालले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

 

वार्षिकोत्सव समारोहमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. ललित अग्रवालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरले अस्पतालको इतिहास र डा. अल्ब्रेख्त हेनिङको योगदानबारे प्रकाश पारेका थिए।

समारोहका अध्यक्ष पद्मनारायण चौधरीले सेवाग्राहीको विश्वास र साझेदार संस्थाहरूको सहकार्य नै सफलताको मुख्य आधार भएको बताए।

नेपाल नेत्र ज्योति संघ मोरङका अध्यक्ष राजन श्रेष्ठ, ओर्बिस इन्टरनेसनलका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा दीर्घ सेवा पदक, खेलकुद पुरस्कार तथा आँखा दान प्रमाणपत्र वितरण गरिएको थियो ।

View : 304

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved