विराटनगर । मैथिली विकास अभियान तथा मैथिली अनलाइनको संयुक्त आयोजनामा विराटनगरमा ‘गीत–नाद मैथिली लोकगीत प्रतियोगिता’ को स्वर परीक्षण (अडिसन) सम्पन्न भएको छ ।
विराटनगरस्थित संगम पार्टी प्यालेसमा शनिबार भएको अडिसनबाट विभिन्न १२ वटा समूहले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
अडिसनमा मोरङ र सुनसरीका विभिन्न ३५ वटा महिला गीत गायन समूहले प्रतिस्पर्धा गरेको मैथिली विकास अभियानका उपाध्यक्ष कल्पना दासले जानकारी दिइन् ।
प्रतियोगितामा संगीत प्रशिक्षक विद्या मिश्रा, लोकगायक तथा संगीतकार भगवान झा र गायक राजीव मिश्राले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
अडिसनका क्रममा सहभागीहरूलाई मैथिली भाषाको मौलिक लोकगीत गाउन लगाइएको थियो ।
मैथिल संस्कृतिमा प्रत्येक संस्कारहरू लोकगीतबिना पूरा नहुने र समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारगत गीतहरू गाउने चलन रहेको छ ।
तर, बढ्दो आधुनिकताको प्रभावका कारण ती संस्कार गीतहरू लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले बताए ।
फाइनलमा अडिसन चरण पार गरेका १२ वटा समुहबीच प्रतिस्पर्धा गराएर प्रथम, दोस्रो र तेस्रो छनौट गरिने आयोजक समितिले जनाएको छ । आयोजक समितिले सामाजिक संजालको माध्यमबाट समेत एकजनालाई बिजेता घोषणा गर्ने जनाएको छ ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा जेठ ३० गते शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ । फाइनलमा मैथिल संस्कृतिका गीत–संगीतका साथै नृत्यहरू समेत प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट भई प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद १५ हजार, ११ हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved