Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि मुकेश कार्कीसँग प्रहरीले गर्यो सोधपुछ

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

विराटनगर । कारागारका कैदीबन्दीको सेवा सुविधादेखि श्रमको मूल्य समेत अवैध रुपमा असुली गरेको आरोपमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्पर्क देखिएपछि विराटनगर–७ का मुकेश कार्कीलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ ।

मोरङ प्रहरीले ४६ वर्षीय कार्कीलाई शनिबार बिहान घरैबाट पक्राउ गरेकोे हो । करिब ६ घण्टा सोधपुछ गरेपछि शनिबार दिउँसो उनलाई परिवारको जिम्मा लगाइएको बताइएको छ । 

उनलाई गिरीविरुद्ध भइरहेको अनुसन्धानका क्रममा आर्थिक कारोबार गर्न महत्वपूर्ण सहयोग गरेको देखिएपछि पक्राउ गरेर सोधपुछ गरिएको मोरङ प्रहरीले जनाएको छ ।  

कार्की र गिरीबीच लामो समयदेखिको सम्पर्क देखिएको र आर्थिक कारोबार हुँदै आएको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

प्रहरीले कार्कीमाथि गिरीको आर्थिक कारोबार, सम्पत्तिको स्रोत र अन्य व्यक्तिहरूसँगको थप सम्बन्धबारे अनुसन्धान गर्ने तयारी गरेको छ ।

प्रहरीले गिरी पक्राउ परेयता गरेको अनुसन्धानका क्रममा गिरीकै निकट सहयोगी बनेर कार्कीले काम गर्ने गरेको दाबी गरेको छ । 

अनुसन्धानका क्रममा आर्थिक हिसाब–किताब राख्नेदेखि गिरीले अवैध रुपमा असुली गरेको रकमको व्यवस्थापन गर्ने र अन्य व्यक्तिसँग समन्वय गर्ने भूमिका पनि कार्कीले नै गरेको देखिएको प्रहरीको भनाई छ । 

विराटनगर सुधार केन्द्र सञ्चालन गर्दै आएका कार्कीले गिरीको समूहसँग मिलेर प्रत्यक्ष असुली, मिटरब्याज तथा अन्य आपराधिक गतिविधिमा संलग्नता रहे–नरहेको पनि सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । 

गिरी भने गत असार १३ मै आफ्नै घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो । 

मोरङ कारागारका कैदीबन्दीको गर्मी भत्तादेखि कैदीबन्दीले बनाएका विभिन्न प्रकारका सामग्रीको रकम समेत असुली गरेको आरोपमा मोरङले अहिले पनि थप अनुसन्धान जारी नै राखेको छ । 

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेकै अवस्थामा सिआईबीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघातसँग सम्बन्धित कसुरमा विराटनगरबाटै नियन्त्रणमा लिएर गिरीले काठमाडौं पुर्याएको छ । 

विगतदेखि नै विभिन्न आपराधिक घटनामा जोडिएर जेल जीवन समेत विताइसकेका गिरी त्यसपछि पनि अनेकौं आपराधिक आर्थिक लाभका घटनामा जोडिंदै आएका थिए । 

उनले विराटनगरका विभिन्न व्यक्तिबाट मिटरब्याज वापत रकम असुल गर्नेदेखि सम्पति समेत कब्जा गर्ने गरेको गुनासो प्रहरीसँग पुग्ने गरेको छ । 

विगतमा राजनीतिक पहुँच देखाएर गिरी उम्किंदै आएका थिए । गिरीसँग आर्थिक कारोबार र आपराधिक कार्यमा सहकार्य गरेका व्यक्तिहरूको विवरण तयार पार्ने र अनुसन्धानका लागि पक्राउ गर्ने काम प्रहरीले गर्दै आएको जनाएको छ ।

View : 33

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved