Biratnagar, Morang, Nepal
१६ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगीको समय उधारो असुलीमै वितिरहेको छ : विरेन्द्र वहादुर बस्नेत

उद्‌घोष संवाददाता
१६ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । बुद्ध एयर एवं आरजु राइस मिलका संचालक विरेन्द्र बहादुर बस्नेतले नयाँ सरकार बनेपछि केही सहजीकरण भएको अनुभव भए पनि उधारो असुली अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले पैसा नतिर्ने व्यापारीलाई प्रहरी प्रशासनमार्फत बोलाएर तत्काल भुक्तानी गराउने वा आवश्यक परे छिटो कानुनी कारबाही गर्ने संयन्त्र प्रभावकारी भए उद्योगीहरूलाई ठूलो राहत पुग्ने उनले बताएका छन् ।

बस्नेतका अनुसार आफ्नो राइस मिलको ३ करोड रुपैयाँ उधारो उठ्न नसकेको भन्दै यस्तो समस्या समयमै समाधान गर्न नसकिए भविष्यमा यो अर्बौं रुपैयाँमा रूपान्तरण हुन सक्ने बताए । त्यसैले एउटा उद्योगको मात्र नभई समग्र व्यापारिक प्रणालीको चुनौतीका रूपमा लिनुपर्ने उनी बताउँछन् ।

आगामी दिनमा यस विषयलाई उद्योगीहरूको साझा अभियानका रूपमा अघि बढाउने तयारी पनि भइरहेको उनले बताएका छन् ।

उधारोको समस्याबीच पनि आरजु राइस मिलले किसानसँगको सम्बन्धलाई भने प्राथमिकतामा राखेको उनले बताए । बस्नेतका अनुसार उद्योगले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार किसानबाट धान खरिद गरिरहेको छ । त्यसैले किसानबाट उल्लेखनीय असन्तुष्टि नरहेको उनको दाबी छ । मलको अभावलाई भने उनले नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको टिप्पणी गरे ।

आरजु राइस मिलको वार्षिक धान प्रशोधन क्षमता ३० देखि ३५ हजार टन रहेको छ । उद्योगले अब चामल उत्पादनमै सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रानलाई उपयोग गर्ने पूरक उद्योग स्थापना गर्ने योजना अघि बढाएको छ । यसबाट उत्पादनको पूर्ण उपयोग गर्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य रहेको बस्नेतको भनाइ छ ।

बस्नेतको अर्को जोड स्वदेशी चामलको उपभोगमा छ । उनका अनुसार नेपाली चामल गुणस्तरका हिसाबले आयातित चामलभन्दा कमजोर छैन, बरु धेरै अवस्थामा अझ राम्रो छ । उत्पादन भएको खेतसम्म ट्रेस गर्न सकिने भएकाले विषादीको अवस्थाबारे पनि स्पष्ट जानकारी लिन सकिने उनी बताउँछन् ।

बस्नेतले पूर्वी नेपालको मोरङमा आरजु राइस मिल स्थापना गरी संचालन गर्दै आएका छन् । अहिले धान–चामल उद्योगको सबैभन्दा ठूलो संकट उत्पादन, बजार वा कच्चा पदार्थ नभइ उधारो कारोबारबाट अड्किएको पूँजी भएकाे बताए ।

वर्षमा करिब १५ अर्ब रुपैयाँको बराबरको कारोबार गर्ने आरजु राइस मिलको करिब तीन करोड रुपैयाँ बजारमा फसेको पिडा बस्नेतले सुनाए । काठमाडौं, पोखरालगायतका विभिन्न सहरका होलसेलर तथा रिटेलरबाट उठ्न बाँकी रकमका कारण उद्योगलाई कानुनी र प्रशासनिक प्रक्रियामा जानुपरेको बस्नेत बताउँछन् ।

उनको भनाइमा चामल अन्तिम उपभोक्तासम्म पुग्दा नगदमा बिक्री हुन्छ । उपभोक्ताले तिरेको पैसा बीचका व्यापारीको तहमा अड्किँदा उद्योगीको पूँजी नै थुनिने अवस्था सिर्जना भएको छ । यही कारण उद्योगीले आफ्नो व्यापार विस्तारभन्दा बढी समय र ऊर्जा उधारो रकम असुलीमै खर्च गर्नुपरेको उनको गुनासो छ । नेपाल न्यूज बैंक

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved