Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज ओली र लेखकलाई अदालतमा पेश गर्ने, आजै एमालेले देशभर प्रदर्शन र विरोध पत्र बुझाउने

उद्‌घोष संवाददाता
१५ चैत २०८२, आइतवार

विराटनगर । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा दमन गरी मानिसहरू मारिएको घटनामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । 

पक्राउपछि ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई प्रहरीको महाराजगञ्जस्थित गणमा राखिएको छ ।

शनिबार बिहानै निवासबाट पक्राउ परेका दुवै नेतालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।
यता एमालेले भने देशभर आज विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सिडियो कार्यालयमा विरोधपत्र बुझाउने तयारी गरेको छ ।

ओलीको गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही भन्दै देशभर आन्दोलन चर्काएको एमालेले सवै जिल्लामा जुलुससहित विरोधपत्र बुझाउने र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो ।

एमालेका सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे देशभर प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाइने जनाइएको छ ।

एमालेले ओलीको निशर्त रिहाईको माग गर्दै भदौ २४ को हिंसात्मक तोडफोड, आगजनी र लुटपाटको घटनाका दोषीसमेत तत्कालै पक्राउ गर्नुपर्ने माग गरेको छ । तर कार्की आयोगले भने भदौ २४ को घटनामा आँखा चिम्लिएर तत्कालिन सरकारको नेतृत्वकर्ताको हिसावमा ओलीलाई मात्रै पक्राउ गरेको एमालेका नेता कार्यकर्ताहरूको आरोप छ । 

शनिबार दिनभर काठमाडौंस्थित माइतीघर–बिजुलीबजार क्षेत्र एमालेको प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो । एमालेले ओलीको रिहाईका लागि आजै कानुनी प्रक्रियामा समेत प्रवेश गर्ने तयारी गरेको जनाइएको छ । 

View : 189

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved