Biratnagar, Morang, Nepal
१ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशभित्रै बनेको कपडाको पोसाकमा प्रदेश सरकारका कर्मचारी

उद्‌घोष संवाददाता
३२ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादन र रैथाने सीपको प्रवद्र्धन गर्ने उद्देश्यका सुरु गरेको ‘स्थानीय पोसाक अभियान’ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कार्यन्वयन गरेको छ । 

आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमअनुसार मन्त्रालयका कर्मचारीहरूले हप्तामा दुई दिन ढाका, खाडी र अल्लोजस्ता स्थानीय कपडाबाट बनेका पोसाक लगाएर कार्यालय आएका छन् । 

बुधबार मन्त्रालयका कर्मचारीहरूले स्थानीय पोसाकमा मन्त्रालय आएर सामुहिक तस्वीर खिचाए । 

प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कर्मचारीलाई स्थानीयस्तरमा बनेका कपडा लगाउन प्रोत्साहित गरिएको थियो । त्यसका लागि प्रदेश सरकारले आफ्ना कर्मचारीलाई वार्षिक रुपमा एकमुष्ट प्रतिव्यक्ति पाँच हजार ५०० रुपैयाँ अतिरिक्त पोसाक भत्तासमेत उपलब्ध गराएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव उद्धव रिजालले सबै कर्मचारीले एकै साथ स्थानीय पोसाक प्रयोग गरेर सरकारको कार्यक्रमलाई अभियानका रुपमा कार्यान्वयन गरेको बताए । 

उनले स्थानीय उत्पादनको प्रयोग बढाउँदा प्रदेशभित्रका घरेलु उद्योगलाई प्रोत्साहन मिल्ने बताए ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ मा प्रदेश सरकार र मातहतका कार्यालय, विद्यालय र स्थानीय सरकारसँग समेत स्थानीय उत्पादनका कपडा लगाउने अभियानका लागि लागत साझेदारी गर्ने घोषणा गरेको छ ।

View : 28

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved