उदयपुर । उदयपुर रौतामाई गाउँपालिका–६ स्थित प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा नयाँ वर्ष २०८३ को अवसरमा ‘रौतामाई–त्रियुगा पर्यटन महोत्सव हुने भएको छ ।
रौता पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
चैत २९ देखि २०८३ बैशाख ३ गतेसम्म रौतापोखरी क्षेत्रमा महोत्सव आयोजना हुने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताए ।
उनले रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाले संयुक्त रूपमा ‘रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए ।
महोत्सवको तयारीका लागि दुवै स्थानीय तहको संयुक्त बैठक बसेर त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा महोत्सव मूल समारोह समिति गठन गरिएको जनाइएको छ ।
महोत्सव संचालनका लागि रौतामाई गाउँपालिकाले पाँच लाख रूपैयाँ र त्रियुगा नगरपालिकाले सात लाख रूपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख बस्नेतले बताए ।
महोत्सवका अवसरमा कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा पर्ने पालिका र मधेश प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूलाई बोलाउने तयारी भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
रौता पोखरी क्षेत्रमा विगतदेखि प्रत्येक वर्ष बैशाख १ गते मेला लाग्दै आएको छ । यसपटक महोत्सवका रूपमा पर्यटन प्रवद्र्धन गर्न लागिएको उनले बताए ।
महोत्सवमार्फत रौता पोखरी क्षेत्रको धार्मिक, प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित बढाउने मुख्य लक्ष्य रहेको उनले बताए ।
महोत्सव सफल पार्न कोशी प्रदेश सरकार र पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग थप समन्वय भइरहेको पनि जनाइएको छ ।
महोत्सवको तयारीबारे दुवै पालिकाका प्रमुखसहित सरोकारवालाहरूको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर जानकारी गराइसकेको जनाइएको छ ।
View : 194
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved