Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव

संघीयताका सर्जकहरू नै यसको मुख्य चुनौती : इन्द्र आङ्बो

उद्‌घोष संवाददाता
३ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि संघीयता कार्यान्वयनले अपेक्षित गति लिन नसकेको बताएका छन् । 

संविधान निर्माण गरेका र त्यसका लागि संघर्ष गरेका दलहरूकै कमजोरीले यो अवस्था आएको उनको भनाइ थियो । 

उद्घोष दैनिकको २२ औँ वार्षिकोत्सवका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै आङ्बोले मुलुक राजनीतिक रूपमा संघीयतामा गए पनि प्रशासनिक र वित्तीय रूपमा अझै प्रारम्भिक चरणमै रहेको बताएका हुन् । 

‘नयाँ संविधानमार्फत देशलाई संघीयतामा लगेको १० वर्षभन्दा बढी भइसक्यो । तर संघीयता कार्यान्वयनको प्रश्न यतिखेर पनि असाध्यै जटिल बनिरहेकै छ,’ उनले भने ‘संघीयताको राजनीतिक संरचना निर्माण भए पनि त्यसअनुसार प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरण हुन सकेको छैन ।’ 

संघीयता कार्यान्वयनमा देखिएको चुनौतीका लागि संघीयता पक्षधर दल तथा संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक शक्तिहरू नै जिम्मेवार रहेको उनले बताए । 

आज संघीयतामाथि जुन प्रश्नहरू उठाइएका छन्, ती चुनौती अरूबाट भन्दा पनि जसले संविधान लेखे र जसले देशलाई संघीयतामा लैजानुपर्छ भने, उनीहरूकै कार्यशैलीका कारण बढी सिर्जना भएका हुन्,’ उनले भने ।

संघीय संरचनाअनुसार प्रदेश तथा स्थानीय सरकार सञ्चालन गर्न आवश्यक कानुन र कर्मचारी व्यवस्थापन अझै पूर्ण हुन नसकेको उनले बताए । उनका अनुसार संघीय निजामती ऐन बन्न नसक्नु र प्रदेश प्रहरी समायोजन नहुनु संघीयता कार्यान्वयनका प्रमुख जटिलता हुन् । 

‘संघीयतामा गइसकेपछि तल्ला सरकारहरू सञ्चालन गर्न ऐन–कानुन र कर्मचारी चाहिन्छ, तर आजका दिनसम्म संघीय निजामती ऐन बन्न सकेको छैन । प्रदेश प्रहरी समायोजन हुन सकेको छैन,’ आङ्बोले भने ‘ यस्ता प्रशासनिक र संरचनागत जटिलताहरूलाई चाँडो सुल्झाएर मात्र संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकिन्छ ।’

View : 25

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved