विराटनगर । २८ दिनदेखि जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनलाई स्थानीय सरकारलेसमेत समर्थन गर्न थालेका छन् । झापाको भद्रपुर नगरपालिकाले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गर्न संघीय सरकारलाई दबाबसमेत दिएको छ ।
सामुदायिक विद्यालयका हजारौं शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएको विषयलाई सत्तारुढ एमालेले रुचाएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसम्म अनि एमालेका कार्यकर्ताहरुसमेतले मञ्चहरुदेखि सामाजिक सञ्जालसम्म शिक्षक आन्दोलनलाई कटाक्ष गरिरहेका बेला स्थानीय सरकारले भने समर्थन प्रकट गरेको हो ।
भद्रपुर नगरपालिका प्रधानमन्त्री ओली र मुख्यमन्त्री कार्कीको गृह जिल्लाकै एउटा स्थानीय सरकार हो । त्यसो त शिक्षक आन्दोलनबारे सत्तामा नहुँदा एउटा र सत्तामा हुँदा अर्कै बोली प्रकट गरेका प्रधानमन्त्री ओलीको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
सत्ता बाहिर छँदा ‘गुरुहरुलाई सडकमा उत्रन बाध्य पार्ने’ भन्दै सरकारको तिखो आलोचना गर्ने ओली आफै प्रधानमन्त्री हुँदा भने अहिले शिक्षकहरुलाई अनेकौं लाञ्छना लगाइरहेका छन् ।
एमालेका नेता कार्यकर्ताको विरोधका वावजुद शिक्षक आन्दोलन भने चर्किंदै गइरहेको छ । शिक्षक आन्दोलनलाई उडाउने सरकार उनीहरुसित वार्ता गर्न बाध्य भएको छ ।
यसरी संघीय सरकारले मात्रै होइन, धेरै स्थानीय र प्रदेश सरकारहरुले पनि आन्दोलनप्रति नकारात्मक टिप्पणी गरिरहेका बेला भद्रपुरले भने आफूलाई शिक्षकका पक्षमा उभ्याएको हो ।
भद्रपुरले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै शिक्षकहरुलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ ।
मेयर गणेश पोखरेल र उपमेयर राधा कार्की दुवैले हस्ताक्षर गरेर मंगलबार जारी गरेको विज्ञप्तिमा भद्रपुर नगरले शिक्षक आन्दोलनको समर्थन गरिएको छ ।
‘काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयहरुको नियमित शैक्षिक कार्यक्रमहरु प्रभावित भई बालबालिकाहरुको पढ्न पाउने मौलिक हक र अधिकारमा प्रतिकूल प्रभाव परेको छ ।
आज २८ औं दिनको काठमाडौं केन्द्रित आन्दोलन चलिरहँदा यस नगरपालिकाको धारणा यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौं’ भन्दै भद्रपुर नगरले शिक्षकका जायज माग पूरा गर्न माग गरेको छ ।
‘संघीय शिक्षा ऐन तत्काल जारी गर्ने सम्बन्धमा शिक्षक महासंघले शुरुदेखि उठाउँदै आइरहेको माग हो ।
तसर्थ यस विषयमा शिक्षक महासंघको मागप्रति स्थानीय सरकारको ऐक्यबद्धता रहेको छ’ भद्रपुर नगरले भनेको छ ‘संविधान जारी भएको एक दशक पूरा हुन लाग्दासमेत २०२८ सालमा निर्मित कानूनद्वारा शिक्षा क्षेत्र सञ्चालन हुनु दुःखद भएकोले यथाशक्य चाँडो संसदमा विचाराधीन रहेको विधेयकमा शिक्षक महासंघले उठाउँदै आएका जायज मागहरु सम्बोधन गर्दै शिक्षा विधेयक पारित गरी शिक्षा ऐन जारी गर्न विषयगत समिति, संघीय संसद, नेपाल सरकार र सम्बन्धित राजनीतिक दलका नेतृत्व समक्ष अनुरोध गर्दछौं ।’
हाल विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नु पर्ने समयमा अभियान प्रभावित भइरहेकोले यसले समग्र शिक्षा प्रणाली र विद्यालयमा अध्ययनरत विद्यार्र्र्थीका अभिभावकहरुमा समेत भविष्यलाई लिएर चिन्ता तथा अन्योल रहेको उल्लेख गर्दै भद्रपुरले भनेको छ ‘नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, एसइईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को बार्षिक परीक्षा सञ्चालनलगायत विद्यालय शिक्षा क्षेत्रका सम्पूर्ण कार्यक्रमहरु ठप्प भइरहेको हुँदा आन्दोलनमा रहनु हुने सबै शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई विद्यालय फर्कनका लागि अनुरोध गर्दछौं । साथै यसका लागि अनुकुल वातावरण बनाइदिन नेपाल सरकार समक्ष अनुरोध गर्दर्छौ ।’
स्थानीय सरकारले विज्ञप्ति जारी गरेरै शिक्षक आन्दोलनलाई समर्थन गर्नुको कारणबारे मेयर गणेश पोखरेललाई सोध्दा उनले नगरपालिकाको धारणा विज्ञप्तिमै प्रष्ट गरिएको बताए ।
मेयर पोखरेल सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका निकट नेता पनि हुन् । उपमेयर कार्की राप्रपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved