विराटनगर । वि.सं. १९८८ सालदेखि सुरु भएको विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्रालाई यस बर्ष सुरक्षा संवेदनशिलताका हिसावले व्यवस्थित बनाउने प्रयास स्वरुप चर्को ध्वनीयुक्त डिजे साउण्डलाई पूर्ण रूपमा प्रतिबन्ध गरिने भएको छ ।
६९ औं संस्करणको श्रीराधाकृष्ण रथयात्रा समारोह समिति–२०८३ ले यस पटक रथयात्राका क्रममा भजन–कीर्तन तथा धार्मिक झाँकीहरूलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ ।
आउँदो शनिबार श्रीराधाकृष्ण रथयात्रा निकालिंदैछ । रथयात्रालाई यस पटक विगतको अभ्यासलाई त्याग्दै धार्मिक महोत्सवका रुपमा आयोजना गर्न अझ मर्यादित र व्यवस्थित बनाउन लागिएको हो ।
समितिका अध्यक्ष कैलाश रेग्मीले बुधबार पत्रकार सम्मेलन गर्दै डिजेसहितका सवारीसाधन रथयात्रामा सहभागी भएको पाइएमा कारबाही गरिने घोषणा गरेका हुन् । त्यसका लागि स्थानीय प्रशासनले आवश्यक निगरानी गर्ने जानकारी दिए ।
उनले धार्मिक उत्सवलाई आधुनिक र भड्किला डिजे संगीत बजाउने थलोका रुपमा प्रयोग हुन थालेपछि यस्तो निर्णयमा पुग्नु परेको बताएका हुन् । रथयात्रामा झाँकीहरूले मुखै भगवानहरूको भजन गाउँदै विराटनगर परिक्रमा गर्ने जानकारी दिए ।
आयोजक समितिले रथयात्रालाई व्यवस्थित बनाउन रथमा दुईवटा हर्न माइक मात्रै राख्ने तयारी गरेको छ । जसबाट ‘राधे–कृष्ण’ लगायतका धार्मिक भजन मात्रै बजाइने जनाइएको छ ।
रथयात्रा शनिबार दिउँसो साढे ३ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।
रथयात्राले तीनपैनी–ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक–बरगाछी हुँदै पुनः मन्दिरमा पुगेर करिब ९ किलोमिटर दूरी पार गर्ने जनाइएको छ ।
रथयात्रामा नेपाल तथा भारतका विभिन्न स्थानबाट करिब ५ लाख श्रद्धालु भक्तजनको सहभागिता रहने दाबी गरिएको छ । रथयात्रालाई व्यवस्थित बनाउन ३३ एक हजार स्वयंसेवक र एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।
रथयात्राको सुरक्षाका लागि ड्रोनबाट समेत निगरानी गरिने तयारी छ । रथयात्राका लागि आवश्यक अन्य सुरक्षा सावधानीका लागि ट्राफिक व्यवस्थापन, विद्युत् र टेलिफोनका तार व्यवस्थापन, सडक सरसफाइ तथा आवश्यक मर्मतसम्भारको काम भइरहेको छ ।
यस वर्ष रथयात्राका क्रममा भक्तजनबाट प्राप्त हुने भेटीको रकम रसुवा नुवाकोट लगायतका जिल्लामा भोटेकोशीबाट प्रभावित नागरिकका लागि राहत र उद्दारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भइसकेको छ ।
अध्यक्ष रेग्मीका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले भेटी रकम राहत कोषमा जम्मा गर्ने निर्णय भइसकेको जानकारी दिएका हुन् ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved