Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

शिक्षामन्त्रीसँग बीपी प्रतिष्ठानको गुनासो

‘बीमाको भुक्तानी नपाउँदा आर्थिक संकट बढ्यो, विद्यार्थी पनि घटे’

उद्‌घोष संवाददाता
१० वैशाख २०८३, बिहिवार

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले समस्यै समस्याले थलिंदै गएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भ्रमण गरी समस्या बुझ्ने प्रयास गरे । 

प्रतिष्ठानका पदाधिकारीहरूले पनि नयाँ सरकारका विभागीय मन्त्री आइपुगेको अवसर पारेर प्रतिष्ठानभित्रको समस्याको पोको फुकाए ।

उपकुलपति कार्यालयमा आयोजित छलफलमा प्रतिष्ठानका पदाधिकारीहरूले हाल चिकित्सा शिक्षा आयोगको ऐनका कारण विद्यार्थी संख्या घटेर समस्या भोगिरहेको र चर्को आर्थिक चुनौती भोगिरहेको अवगत गराए । 

सरकारले उपलब्ध गराउनुपर्ने स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नहुँदा प्रतिष्ठान गम्भीर आर्थिक संकटमा परेको भन्दै उनीहरूले मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।

समस्याको समाधानका लागि सरकारको पहल आवश्यक रहेको भन्दै शैक्षिक नीति, अध्ययन–अध्यापन तथा अनुसन्धानका गतिविधिबारे जानकारी गराएका थिए ।

शिक्षा सचिव चूडामणि पौडेल र रास्वपाका केही सांसदहरूसहित मन्त्री पोखरेल प्रतिष्ठान पुगेका थिए । उनीहरूलाई प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले स्वागत गर्दै समस्या सुनाएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिए ।

मन्त्री पोखरेलले प्रतिष्ठानभित्रको समस्याप्रति चासो व्यक्त गरेको जनाइएको छ । उनले समस्या समाधानका लागि सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको जनाइएको छ ।

धरान पुगेको मौका छोपेर मन्त्री पोखरेलले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको भ्रमणमा गर्दै जीर्ण संरचना मर्मत, आधुनिक ल्याब र विद्यार्थीहरूका लागि शैक्षिक सुविधा विस्तारका विषयमा उठेका मागलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

क्याम्पस प्रशासनले सवै कामका लागि एक अर्ब रूपैयाँ बढी बजेट आवश्यक भएको जानकारी गराएपछि मन्त्री पोखरेलले आर्थिक प्रतिवेदन हेरेर विश्वविद्यालयसँग छलफल गर्न आफू तयार रहेको बताएका थिए । 

क्याम्पसको अवलोकनपछि मन्त्री पोखरेलले सञ्चारकर्मीहरूको प्रश्न भने इन्कार गरेका थिए । 

उनले क्याम्पस प्रमुखलाई नै मन्त्रालयमा बोलाइएको भन्दै मन्त्रालयमै विस्तृत समस्या सुन्ने र निर्णयको प्रक्रियामा अघि बढ्ने बताए । 

सो क्याम्पस परिसरभित्र ४४ वर्षसम्म पुराना भवनहरू छन् । जुन जीर्ण बन्दै गएका कारण विद्यार्थीको अध्यापन नै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

View : 146

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved