Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

डा रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

भद्रपुर । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरे । पुरस्कारको राशि रू पाँच लाख छ ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउापालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उनलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशि तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।

आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेकाले डा. रुइतलाई सम्मान गरिएको बताए । जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिएका डा. रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गरेका हुन् ।

यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गरेका छन् । उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रमख अतिथि खापुङ, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा झएको कार्यक्रममा स्वागत सचिव नारायण ओलीले र सञ्चालन सञ्चाकर्मी लीला अनमोलले गरेकी थिइन् । कार्यत्रममा पुरस्कृत व्यक्तित्व डा. रुइतका बारेमा प्रतिष्ठानका महासचिव तुलसीप्रसाद ओलीले र सविनका बारेमा नारद न्यौपानेले प्रकाश पारेका थिए ।

View : 127

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved