Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

निजी तथा सामुदायिक अस्पतालबाट बीमा सेवा लिन बिमितले अब २० प्रतिशत तिर्नुपर्ने

जुनु भट्टराई
२९ फागुन २०८०, मङ्गलवार

विराटनगर । अब स्वास्थ्य बीमामा आवद्ध सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह–भुक्तानी गर्नुपर्ने भएको छ ।

गत बिहीबार (२४ फागुन) बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो ।

यसअघि गत  मंसिर २७ मा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको थियो ।  गत माघ १ गतेदेखि त्यसको कार्यान्वयन  भएको थियो ।

कोशी प्रदेश स्वास्थ्य बीमा बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशत सहभुक्तानीको व्यवस्था गर्ने निर्णय भएको बताए । तर बोर्डले यो व्यवस्था कहिलेदेखि सञ्चालनमा आउने भनेर स्पष्ट गरिसकेको छैन ।

गत २४ फागुनको बैठकले केही महत्वपूर्ण निर्णय मध्ये स्वास्थ्य बीमा कार्यक्रम लागू भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउन जाने बिमितहरुले १० प्रतिशत सहभुक्तानी गर्ने गरेको थियो ।

तर अबदेखि निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशत तिर्नुपर्ने निर्णय भएको र सरकारी अस्पतालमा भने १० प्रतिशतलाई नै निरन्तरता दिएको जानकारी दिए ।

पण्डितले भने, बोर्डको निर्णय भइसके पनि यसलाई कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भैरहेको छ  त्यसपछि चाँडै नै लागू हुनेछ ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका अनुसार कोशी प्रदेशमा १ सय १० स्वास्थ्य संस्था बीमा सेवा दिन सुचिकृत छन् । त्यसमध्ये २९ वटा निजी तथा सामुदायिक अस्पतालहरु छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा प्रति परिवार (५ जना सदस्य)ले बार्षिक ३ हजार ५ सय रुपैयाँ तिर्दा बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । त्यसमा अहिलेसम्म १० प्रतिशत सहभुक्तानीको रुपमा बिरामी पक्षले तिर्नुपर्ने व्यवस्था छ ।

View : 114

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved