Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी व्यवसायीलाई रास्वपा कोषाध्यक्ष अधिकारीको सुझाव

‘निजी क्षेत्रलाई सहजीकरण गर्छौं, लगानी गर्न तयार हुनुहोस्’

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

विराटनगर । संसदमा दुई तिहाई छेउबाट सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य लिमा अधिकारीले सरकार र पार्टी दुवै निजी क्षेत्रमैत्री रहेको बताएकी छन् ।

उनले रास्वपा भ्रष्ट्राचारविरुद्ध खरो रुपमा उत्रिएर आएको पार्टी भएको दाबी गर्दै देशको विकासका लागि सरकार र पार्टीले निजी क्षेत्रसँग सहजीकरण गरेर अघि बढ्ने बताइन् ।

प्रतिनिधि सभाको अर्थ समिति सदस्यसमेत रहेकी सांसद अधिकारीले मोरङबाट निर्वाचित सांसदहरूलाई मोरङ उद्योग व्यापार संघले गरेको स्वागत कार्यक्रममा बोल्दै अब निजी क्षेत्र लगानीका लागि तयार हुनुपर्नेमा जोड दिइन् ।

विगतदेखि नै निजी क्षेत्रले अनेकौं समस्या भोग्दै आएको भन्दै उनले सरकारले समस्या समाधानका लागि सहजीकरण गर्ने आश्वासन दिइन् । तर निजी क्षेत्र पनि अहिलेको सरकारको भावना अनुसार परिवर्तन भएर अघि बढ्नुपर्ने उनले बताइन् । 

सांसद अधिकारीले मोरङको विराटनगरमा औद्योगिक क्षेत्र स्थापना गर्ने विषयलाई आफूले पहिलो पटक संसदमा उठाएको बताउँदै औद्योगिक क्षेत्रलाई अघि बढाउँदै निर्यात व्यापार बढाउनका लागि आफूले नीति निर्माण तहमा काम गर्ने जानकारी दिइन् । आफू पनि उद्यमी भएकोले उद्योग व्यवसाय क्षेत्रका समस्याबारे अवगत रहेको पनि बताइन् ।

‘मुख्य समस्या भनेको उद्योगलाई आवश्यक जग्गा अत्यन्त महंगो भइरहेको छ, उद्योग स्थापना गर्दा कुल लागतको करिब ३०–४० प्रतिशतसम्म खर्च जग्गामै जाने गरेको छ, जसले उत्पादन लागत बढाएर उत्पादकत्वमा पनि नकारात्मक असर पारिरहेको छ’ उनले भनिन्, ‘भदौ २२ र २३ गते भएको आन्दोलनपछि उद्योगी व्यवसायीहरूको मनोबल निकै खस्किएको छ, मैले गुनासो सुन्ने अवसर पाएको छु, करीव ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको सम्पत्ति क्षति भएको छ, अब सवै मिलेर काम गर्नुपर्ने समय आएको छ ।’

सांसद थापाले हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेको सातै प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा एउटा–एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको बताइन् । तर शिलान्यास भइसकेका पाँचवटा औद्योगिक क्षेत्रमा उद्योग स्थापना हुन नसक्नुमा भने उद्योगी व्यवसायीहरूमाथि प्रश्न उब्जिने बताइन् । 

‘हामीले नयाँ औद्योगिक क्षेत्र थप्ने मात्र होइन, पहिलेका संरचनामा रहेका कमजोरीहरू पनि पहिचान गर्न आवश्यक छ, किन औद्योगिक क्षेत्रभित्र उद्योगहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ?’ उनको प्रश्न थियो, ‘उत्पादन र उत्पादकत्व किन बढिरहेको छैन ? रोजगारी सिर्जना किन भइरहेको छैन ? यी प्रश्नहरूको उत्तर खोज्न जरुरी छ ।’

उनले सरकारले दलीय ट्रेड युनियनहरू खारेज गर्ने विषय पनि घोषणा पत्रमै उल्लेख गरिसकेको र सरकारले काम अघि बढाएको जानकारी दिंदै त्यसको केही राहत उद्योगी व्यवसायीलाई हुने बताइन् ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले निजी क्षेत्र युवा अनुहारहरूप्रति आशावादी रहेको बताए । 

उनले नयाँ सोचका साथ मुलुकको अर्थतन्त्र निर्माणमा पारदर्शी रुपमा काम गर्न आग्रह गरे । देशको अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रले सँधै सहयोग गर्ने बताए ।

‘यो सरकारले राम्रो काम गर्नुपर्छ भन्नेमा हामी आशावादी छौं, अर्थतन्त्र सुधार र समाधान गर्नुहुनेछ’ उनले भने, ‘अहिले औद्योगिक क्षेत्रमा वस्ती विस्तार भइरहेका छन्, औद्योगिक करिडोरका समस्यालाई सरकारले गम्भीरताका साथ लिएर सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न निश्चित वस्तुको भन्सार दर पुनरावलोकन गर्नुपर्छ ।’ 

उनले सरकारले श्रम सम्झौता गर्दै युवाहरूलाई विदेश पठाउने भन्दा पनि अब विभिन्न देशहरूसँग व्यापारिक सम्झौता पनि गर्दै जानुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले आफूहरू यो सरकारले राम्रो काम गर्नेमा विश्वस्त रहेको बताए । 

उनले विगतजस्तो बोलेको कुरा पुरा नहुने समस्या यसपटक नहोस् भन्दै रास्वपाका सांसदहरूको ध्यानाकर्षण गराएका थिए । 

साथै, स्वदेशी पूँजी पलायन रोक्नका लागि सरकारले जनतालाई राहत दिने गरी बजेट ल्याउने विश्वास व्यक्त गरे ।

निवर्तमान अध्यक्ष नवीन रिजालले अहिले हरेक वस्तुमा एमआरपी स्पष्ट रुपमा उल्लेख हुनुपर्ने विषयले निजी क्षेत्रलाई समस्या भएको बताए । 

उनले विशेष गरी विदेशबाट आएको वस्तुमा अन्तिम विक्रेताले मात्रै एमआरपी राख्न सक्ने भ्उ पनि आयात भएकै अवस्थामा एमआरपी राख्न असम्भव भएको दाबी गरे ।

सरकारले विकास निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, सरकारले लिने वैदेशिक ऋणलाई विकास र आम्दानी बृद्धि हुने क्षेत्रमा मात्रै खर्च गर्नुपर्ने सुझाव रिजालले दिए ।

उक्त कार्यक्रममा मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी, आशा झा, प्रेमलाल चौधरीसहित रास्वपाका नेता कार्यकर्ताहरू, संघका पूर्वअध्यक्ष खेमचन्द्र जैनसहित वर्तमान कार्यकारिणी समितिका पदाधिकारी र विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको संघका कार्यकारी निर्देशक भरत प्रसाईंले जानकारी दिए ।

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved