विराटनगर । वरिष्ठ समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न कठिनाइ भोगिरहेका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन १२ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
विराटनगर–१० तीनटोलियामा सञ्चालित वुमेन्स क्रियसनमार्फत उनले उक्त रकम उपलब्ध गराएका हुन् ।
सहयोग रकमबाट केन्द्रमा अध्ययनरत १० जना विपन्न बालबालिकाको आगामी पाँच वर्षसम्मको शैक्षिक खर्च व्यवस्थापन गरिने संस्थाले जनाएको छ ।
यस अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा वुमेन्स क्रियसनले शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै गोयललाई ‘शिक्षा सम्मान’ प्रदान गरेको छ । सम्मान संस्थाकी अध्यक्ष एवं शिक्षासेवी पुनम जाजोडियाले हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोयलले शिक्षामा गरिएको लगानी नै समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम भएको बताए ।
आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालयबाट टाढिनु नहुने उल्लेख गर्दै उनले सक्षम व्यक्तिहरूले आफ्नो सामथ्र्यअनुसार शिक्षामा योगदान दिनुपर्ने धारणा राखे ।
उनले भने, ‘सम्पत्ति भन्दा ठूलो सम्पत्ति शिक्षा हो । एउटा बालबालिकालाई पढाउन सकियो भने केवल एउटा व्यक्तिको भविष्य मात्र होइन, एउटा परिवार र अन्ततः समाजकै भविष्य उज्यालो बन्छ । त्यसैले शिक्षामा गरिएको सहयोगलाई म दान होइन, सामाजिक उत्तरदायित्वको रूपमा लिन्छु ।’
गोयलले विगतदेखि नै विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थामार्फत विद्यार्थीहरूको पठनपाठन, छात्रवृत्ति, पूर्वाधार निर्माण तथा शैक्षिक विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।
हालसम्म देशभरका ३०० भन्दा बढी शैक्षिक संस्थासँग सहकार्य गर्दै हजारौं विद्यार्थीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याएको उनले जानकारी दिए ।
वुमेन्स क्रियसनले विपन्न तथा जेहेन्दार बालबालिकालाई निःशुल्क ट्युसन उपलब्ध गराउनुका साथै आवश्यक परेका विद्यार्थीलाई निजी विद्यालयमा समेत आफ्नै व्यवस्थापनमा अध्ययन गराइरहेको कार्य अत्यन्त प्रशंसनीय रहेको उनले बताए ।
यस्ता सामाजिक अभियानले राज्यको प्रयासलाई समेत सहयोग पुर्याउने भएकाले सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
संस्थाकी अध्यक्ष पुनम जाजोडियाले आर्थिक अभावका कारण पढाइ छोड्ने अवस्थामा पुगेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले केन्द्र सञ्चालन गरिएको बताइन् । उनका अनुसार हाल ४० भन्दा बढी बालबालिका निःशुल्क अध्ययन गरिरहेका छन् ।
उनीहरूमध्ये केहीलाई निजी विद्यालयमा भर्ना गराएर आवश्यक शैक्षिक सामग्री र शुल्कसमेत संस्थाले व्यवस्थापन गर्दै आएको छ ।
गोयलको सहयोगले संस्थाको शैक्षिक अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै जाजोडियाले शिक्षा क्षेत्रमा उनले पुर्याउँदै आएको योगदान समाजका लागि प्रेरणादायी रहेको बताइन् ।
कार्यक्रममा कोशी अस्पतालमा निःशुल्क दिवा भोजन सेवा सञ्चालन गर्दै आएका ‘नरसेवा नारायण सेवा’का संयोजक एवं समाजसेवी पृथ्वीकुमार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष तथा उद्योगी देवकिनन्दन अग्रवालसहित नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, नेपाल प्रेस यूनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठलगायत सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।
वुमेन्स क्रियसनको ट्युसन सेन्टर समाजसेवी पृथ्वीकुमार अग्रवालको घर परिसरबाट सञ्चालन हुँदै आएको छ । केन्द्रलाई स्थानीय समाजसेवी, उद्योगी–व्यवसायी तथा विभिन्न प्रतिष्ठित औद्योगिक घरानाका महिलाहरूले पनि नियमित रूपमा सहयोग गर्दै आएका छन् ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved