अझ भनौँ, छातीलाई आकाशले थिचेको छ। दिनरात एक भएको छ। कोहीसँग बोल्न नपरोस्, कोही अगाडि नआओस् भन्ने भएको छ।
जवान छोराको मृत्यु भएको छ, सन्तान गुमाएका छन्। यस्तो अवस्थामा सबैको हालत यही हुन्छ। परिवारमा बज्रपात भएको छ। पीडा न बाँडेर सकिने छ, न बताएर।
मृत्यु शाश्वत सत्य हो, जुन जन्मिँदै प्रत्येक प्राणीले लिएर आएको हुन्छ। तर, शाश्वत सत्य भए पनि मृत्युलाई स्वीकार्न सहज हुँदैन।
कसैको प्रिय व्यक्तिको मृत्युवियोगको पीडा समयसँगै बिस्तारै खाटा बस्दै जान्छ भने, कसैको हकमा यो मानव चोला रहुन्जेल नमेटिने 'खिल' बनेर अनन्तकालसम्म बसिरहन्छ।
समाजमा कसैको मृत्यु हुँदा लोकाचारका लागि गच्छे अनुसारका सामग्री—घ्यू, चामल, फलफूल—लिएर भेट्न जाने र शोकाकुल परिवारजनलाई श्रद्धासुमन अर्पण गर्ने हाम्रो परापूर्वकालदेखि चलिआएको चलन हो।
भनिन्छ— जन्म, मृत्यु, विवाह र धनसम्पत्ति गर्भमा आउनासाथ लेखिएका हुन्छन्। समाजमा राम्रा कुराको प्राप्ति हुँदा खुशी हुने र गुमाउँदा दुःखी हुने रीत नै हो।
उमेर पुगेर हुने परलोक गमनले त्यति पीडा दिँदैन, तर अल्पायुको अकल्पनीय बिछोडको पीडाको त कल्पनासमेत गर्न सकिन्न। त्यतिमात्र होइन, मृत्युलाई कात्रो र विवाहलाई धन कसैले पनि साचेर राखेका हुँदैनन्।
नेपालजस्तो न्यून आय भएका जनताको बसोबास रहेको मुलुकमा यस्ता अकल्पनीय आर्थिक तथा मानसिक व्यय गराउने घटनामा छिमेकी र इष्टमित्रले आर्थिक रूपमा सहयोग गर्नु कर्तव्य हुन आउँछ।
यसरी समाजमा आपत्कालीन समयमा गरिने सहयोगले आपसी भाइचारा बलियो हुनुका साथै शोकाकुल परिवारलाई केही मल्हमपट्टी लाग्न सक्छ।
तर, पछिल्लो समय कसैको निधन हुँदा एउटा समवेदना पत्र लिएर जाने, परिवारका सबै सदस्यलाई भेला हुन लगाउने, समवेदना पत्र वाचन गर्ने र सबैको बीचमा त्यो पत्र प्रदान गर्दै गरेको फोटो खिचेर 'सस्तो लोकप्रियता' का लागि फेसबुकमा पोस्ट गर्ने प्रवृत्ति बढेको छ।
यो चलन सही छ वा गलत भन्ने बहस गर्नुभन्दा पनि यसले पीडामा रहेका परिवारलाई के राहत प्रदान गर्यो भन्ने मुख्य प्रश्न हो।
के हामीले दिएको समवेदना पत्र परिवारले लामो समयसम्म सुरक्षित राख्लान्? यसले न्यून आय भएको परिवारमा ‘कागको घाँटीमा झुन्ड्याएको घाँडो’ जस्तो अवस्था सिर्जना गर्दैन र? के यो सब राजनीति गर्नका लागि हो वा समाजको उत्थानका लागि?
समयसँगै यस्ता चलन हराउँदै जालान् कि रहिरहलन्? यस्ता प्रचलनले शोकाकुल परिवारलाई साँच्चै राहत भइरहेको छ त? समवेदना पत्रको ओइरो केही दिनपछि फोहोरका बोरामा विसर्जन गर्नुको विकल्प हुँदैन।
एउटा समवेदना पत्र बनाउन लाग्ने खर्चलाई सोझै नगद सहयोग (क्यास कन्भर्ट) गर्ने परिपाटीको विकास गरे कसो होला? '
शीत उघाई घैला भरेझैँ' सानो आर्थिक सहयोगले ठूलो गर्जो टार्ने काम भयो भने वास्तवमा त्यसले समाजमा न्याय पाउने थियो।
हिन्दू संस्कारमा कतिपय यस्ता प्रचलन छन्, जुन समाजमा बसेपछि अनुसरण गर्नैपर्ने हुन्छ। समाजका सबै मानिस आर्थिक रूपमा सम्पन्न हुँदैनन्।
सामाजिक परम्परामा मृत्यु संस्कार पूरा गर्न ऋण काढेरै भए पनि भोज खुवाउनुपर्ने बाध्यता छ। परिवारमा देहवसानपछि समाजको ऋण तिर्नका लागि गरिने भोजका कारण ठूलो आर्थिक भारमा परेका थुप्रै उदाहरण भेटिन्छन्।
आर्थिक रूपमा विपन्न परिवारको घरमा यस्ता दैविक घटना हुँदा समवेदना पत्र दिने चलनलाई परिमार्जन गरी ‘समवेदना पेटिका’ राख्ने हो भने स्वेच्छाले जम्मा भएको रकमले पीडित परिवारलाई केही आर्थिक राहत मिल्ने थियो।
शोकमा डुबेको परिवारलाई सान्त्वना दिनु हाम्रो संस्कार हो, परम्परा हो, चलन हो। तर, त्यही चलन अहिले विकृत हुँदै गएको छ।
शोकको घडीमा शोकाकुल परिवारले आफूलाई परेको पीडा नै स्वीकार्न सकिरहेको हुँदैन। त्यस्तो बेला त्यहाँ गएर ङिच्च हाँस्दै फोटो खिच्नु अनि सामाजिक सञ्जालमा ‘भ्यूज’ बढाउनु कति सान्दर्भिक होला !
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved