Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

देवकुमारी थापा र बबरसिंह थापा स्मृति सम्मान घोषणा

कवि ज्ञान उदास र निर्देशक सङ्गीता श्रेष्ठ सम्मानित हुने

उद्‌घोष संवाददाता
१८ चैत २०८२, बुधवार

Advertisement

विराटनगर । बबरसिंह–देवकुमारी थापा स्मृति गुठीले वर्ष २०८२ का लागि दुई महत्त्वपूर्ण स्मृति सम्मानहरूको घोषणा गरेको छ।

गुठीको हालैको निर्णयअनुसार यस वर्षको ‘देवकुमारी थापा स्मृति सम्मान’ वरिष्ठ कवि ज्ञान उदासलाई र ‘बबरसिंह थापा स्मृति सम्मान’ सुप्रसिद्ध फिल्म निर्देशक तथा लेखक सङ्गीता श्रेष्ठलाई अर्पण गरिने भएको छ।

वरिष्ठ कवि ज्ञान उदासलाई देवकुमारी थापा स्मृति सम्मान

वि.सं. २०१८ देखि नेपाली साहित्य साधनाका सक्रिय कवि ज्ञान उदासलाई ५१ हजार रुपैयाँ राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने घोषणा गरिएको हो।

उदासका ‘कुन बेस?’ (२०१९) देखि ‘खाली सारङ्गी’ (२०७४) सम्म गरी सातवटा कविता सङ्ग्रहहरू प्रकाशित छन्।

२०६८ सालदेखि दिन थालिएको यो सम्मानबाट यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी, मदनमणि दीक्षित, वैरागी काइँला, र महावीर पुन जस्ता विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन्।

सङ्गीता श्रेष्ठलाई बबरसिंह थापा स्मृति सम्मान

यसैगरी, चलचित्र निर्देशन, लेखन र सञ्चार क्षेत्रमा सक्रिय सङ्गीता श्रेष्ठलाई २०८२ सालको ‘बबरसिंह थापा स्मृति सम्मान’ प्रदान गरिने भएको छ। यो सम्मानको राशी २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

श्रेष्ठले ‘कथा काठमाडौं’ (फिचर फिल्म), ‘कथा प्रेमका’ (सर्ट फिल्म) र ७० भन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन गरिसकभकी छन्। उनको चर्चित उपन्यास ‘कथामा अल्झिएका प्रेम’  प्रकाशित छ।

२०६० सालबाट सुरु भएको यो सम्मानबाट यसअघि डा. रामबहादुर थापा, मोमिला, प्रमोद प्रधान लगायत २० जना व्यक्ति र २ वटा संस्थाहरू सम्मानित भइसकेका छन्।

साहित्य र कला क्षेत्रका साधकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यी सम्मानहरू हरेक वर्ष प्रदान गरिँदै आएको गुठीका काेषाध्यक्ष हरिमाेहन श्रेष्ठले बताए ।


View : 363

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved