Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

लरी दुर्घटनामा तीन बालबालिकाको गयो ज्यान (फलोअप)

सडकको दुरवस्था मुख्य कारण, ठेकेदारले एक बर्षदेखि थुपारेको थियो गिट्टी

उद्‌घोष संवाददाता
११ फागुन २०८०, शुक्रवार

Advertisement

विराटनगर । समयमा गर्नुपर्ने काम नगर्दा सडकको दुरवस्थाले शुक्रबार बिहान  मोरङको बुढीगंगा गाउँपालिकामा तीन ज्यान गएको छ । बुढीगंगा–४ नेमुवामा भएको दुर्घटनामा दुई परिवारले आफ्ना तीन जना सन्तान गुमाएका छन् ।

सडक निर्माण गर्ने नाममा सडक भत्काउने र लामो समयसम्म त्यतिकै छाडिदिने प्रवृत्तिले बारम्बार दुर्घटना भइरहेका छन् । नेमुवामा शुक्रबार बिहान भएको दुर्घटनाको मुख्य कारण नै सडकको दुरवस्था देखिएको छ ।

दुर्घटना हुनुमा सडक निर्माणको काम सुरु गर्ने ठेकेदारको कमजोरी भएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले औंल्याएका छन् । गाउँपालिकाले सडकलाई भत्काएर नबनाई लामो अवधि त्यसै छाड्ने ठेकेदारलाई कारवाही गर्ने पनि उनले जनाएका छन् । ग्राभेल गर्न थुपारिएको मिक्स गिट्टी छल्ने क्रममा भारतीय नम्बरको लरी पल्टिएर तीन जना बालबालिकाको ज्यान गएको गाउँपालिका अध्यक्ष थापा मगर बताउँछन् ।

नेमुवा चोकबाट पूर्वतर्फ सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा शुक्रबार बिहान आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिएको थियो । नजिकै रहेको मार्बल उद्योगमा मार्बल कटिङ गर्न सो गाडीले भारतको राजस्थानबाट ढुङ्गा आकारको मार्बल बोकेको थियो । 

प्रहरीका अनुसार सडक छेउ सानो चिया पसल गरेर बसेका ज्योति अधिकारीको खुट्टा काम नलाग्ने गरी च्यापिएको छ । उनका ५ वर्षीय छोराछोरीहरू निशान र इशिता तथा छिमेकी बालिका ७ वर्षीया रिया खवासको ढुङ्गाले च्यापेर ज्यान गएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । तीनै जनाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।

नहरको डिलमा चिया पसल गरेर बसेका अधिकारी दम्पत्तीको विवाह भएको २० वर्षपछि एकैसाथ दुई सन्तान जन्मिएका थिए । ट्रक पल्टिन्छ भनेर हल्ला गर्दागर्दै पसलतर्फ लरी पल्टेको स्थानीय बताउँछन् । गाउँपालिकाका अध्यक्ष मगर ठेकेदारले सडक कालोपत्रे गर्न एक वर्षदेखि बाटोमा ढुङ्गा थुपारेर अवरोध गर्दै आएको बताउँछन् ।

ठेकेदारको लापर्वाहीले एक वर्षदेखि बाटोमा गिट्टी थुपारिएको बताउँदै गाउँपालिका अध्यक्ष मगरले यस्ता ठेकेदारलाई कारवाही हुने बताए । उनका अनुसार, सुनसरीको दुहबीका बासिन्दा अधिकारी केही वर्षदेखि सो ठाउँमा चिया पसल चलाएर बसेका थिए । 

ठुला ढुङ्गाले बालबालिकालाई किचेको खबर फैलिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेका थिए । ढुङ्गा काटेर बालबालिकाको शव निकाल्न साढे चार घण्टा समय लागेको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । ढुङ्गा निकाल्नुअघि दुई वटा क्रेनले लरी उठाएको थियो । लरीले नहरको सडक ढाकेपछि उद्धारमा प्रयोग हुने अन्य उपकरण र एम्बुलेन्स छिराउने ठाउँ भएन ।

आक्रोशित देखिएका स्थानीयले लरीलाई पनि नहरमै पल्टाई दिन गरेको आग्रह गर्दै थिए । क्रेनले लरीलाई नहरभित्रै पल्टाएपछि डोजर र जेसीबी ढुङ्गा भएको ठाउँसम्म ल्याउन सम्भव भएको थियो ।

View : 1229

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved