Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा स्टाफ नर्सको शव फेला प्रकरण

प्रहरी भन्छ– ‘हत्यापछि ब्वाइफ्रेन्ड भनिएको व्यक्तिले फोटोहरु पठाएको खुलेको छ’

उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिका कुमारी दासको हत्या उनकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विराटनगर–४ मा चार महिनायता कोठा भाडा लिएर बस्दै आएकी स्टाफ नर्स दासको शव शुक्रबार मध्यान्ह तिर कोठाभित्रै शौचालयमा फेला परेको थियो ।

प्रहरीले उक्त घटना मृत भेटिएकी स्टाफ नर्स दासकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने आशंका घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो । सिरहाको फुल्काहाकट्टी घर भएकी स्टाफ नर्स दासको सोही ठाउँ घर भएका ब्वाइफ्रेन्ड अमिन धानुकले हत्या गरेर उनकै साथीलाई शवको फोटो पठाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।

प्रहरीले अनुसन्धान पुरा नभएको र आशंका गरिएको व्यक्ति पक्राउ नपरेका कारण थप कुरा सार्वजनिक गरेको छैन ।

स्टाफ नर्स दासको शव मध्यान्ह करिव १२ बजेतिर उनकै कोठाको शौचालयमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । 

उनको शव विराटनगर–४ बुढाथोकी मार्गस्थित थीरेन्द्र गिरीको घरमा लिएको डेराको शौचालयमा भेटिएको जनाइएको छ । हत्यामा संलग्न रहेको आरोप लागेका धानुकले शव शौचालयभित्र राखेर त्यसको फोटो खिचेर सोही घरमा भाडामा बस्ने मृतक दासका अन्य साथीहरूलाई ह्वाट्सएपबाट पठाएका थिए ।

घटनाबारे मृतक दासका साथीहरूले घरधनीलाई जानकारी गराएपछि प्रहरीलाई घटना जानकारी गराइएको थियो । प्रहरीले शौचालय खोलेर हेर्दा शव भेटिएको थियो ।

हत्यामा संलग्न व्यक्तिले कोठाको चाबी बाहिरबाट लगाएर भागेको जनाइएको छ ।

प्रहरीका अनुसार शवको अवस्था हेर्दा धारिलो हतियारले घाँटी, टाउको र शरीरमा प्रहार भएको पाइएको छ । मृतक दासका प्रेमी भनिएका युवक सम्पर्कविहीन बनेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

हत्यारा पक्राउ नपरेका कारण कारण खुल्न सकेको छैन । हत्या भने धानुकले नै गरेको हुनसक्ने प्रहरीको भनाई छ । तर अनुसन्धान पुरा नहुन्जेल यकिनका साथ भन्न नसकिने प्रहरीको भनाई छ ।

View : 292

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved