Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा एमालेको समीक्षा :

ओलीको सम्बोधनपछि ‘माथिदेखि नै पुनर्गठन’ बहस

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेकपा एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन गर्ने एजेण्डा बोकेर प्रदेश दौडाहामा उत्रिएको एमालेको केन्द्रीय पदाधिकारी टोलीलाई कोशी प्रदेश तहका नेता कार्यकर्ताहरूले भने पार्टीलाई ‘माथिदेखि नै पुनगर्ठन’ गर्नुपर्ने सुझाव दिएर पठाएका छन् ।

मंगलबार कोशी प्रदेशस्तरीय समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेमाथि घेराबन्दी भइरहेको र पार्टी पुनगर्ठनको हल्ला चलाएर एमालेलाई कमजोर पार्न खोजिएको निजी तर्क प्रस्तुत गरेका थिए ।

ओलीले अध्यक्ष परिवर्तनको विषयमा छलफल नगर्न स्पष्ट निर्देशन नै दिएको एमालेका एक कार्यकर्ताले बताए । तर ओलीले बोलिसकेपछि सुरु भएको सुझाव संकलनका क्रममा भने अधिकांश सहभागीहरूले पार्टीको शीर्ष तहदेखि नै पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए ।

एमालेले निर्वाचन समीक्षा र पार्टी पुनगर्ठनको मुद्दामा सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा सुझाव संकलन कार्यदल गरेको छ । उक्त कार्यदल नै ब्यानरमा आयोजक राखेर गरिएको सुझाव संकलनमा धेरै नेता कार्यकर्ताले पार्टी पुनगर्ठन आवश्यक रहेको बताएका हुन् । 

उनीहरूले पार्टीभित्र देखिएको संकट समाधान गर्न नेतृत्व तहदेखिका सबै संरचनामा पुनर्गठन आवश्यक रहेको बताए ।

‘अध्यक्ष कमरेडले भने अनलाइनबाट आफ्नै अडान प्रस्तुत गर्नुभएको थियो, तर सुझाव दिनेहरू अधिकांशबाट पार्टीलाई पुनर्गठन हुनुपर्छ आयो, पार्टी जोगाउन पार्टीको पुनगर्ठन आवश्यक छ भन्ने मुख्य आशय देखिएको थियो’ एमाले मोरङका उपाध्यक्ष सागर थापाले भने, ‘जिल्लाका अध्यक्षदेखि पदाधिकारीहरूले यस्तो सुझाव दिए ।’

सहभागीहरूले एमाले कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै कमजोर बन्दै गएको धारणा राखे । 

पार्टी व्यक्ति केन्द्रित हुँदै गएर संगठनात्मक गतिशीलता घटेकाले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न एमालेको शीर्ष तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मै पुनर्संरचना आवश्यक रहेको सुझाव दिए । 

कार्यक्रममा पा“चथर बाहेक १३ जिल्लाका पदाधिकारी, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा कोशी भूगोलका केन्द्रीय सदस्यहरू सहभागी थिए । उनीहरूले पार्टीले समयमा परिस्थितिको मुल्यांकन गर्न नसकेको भन्दै नेतृत्व तहप्रति असन्तुष्टि पोखेका थिए ।

अब एमालेलाई वर्तमान राजनीतिक परिस्थितिअनुसार परिवर्तनको पक्षमा अगाडि उभ्याउन सके पार्टी पुनगर्ठित भएर अघि बढ्न सक्ने धारणा राखे ।

एमाले कोशी प्रदेश कमिटीको इन्चार्ज समेत रहेका केन्द्रीय सचिव शेरधन राईले निर्वाचन परिणामको वस्तुगत समीक्षा चलिरहने तर पार्टीलाई अब नयाँ दृष्टिकोणबाट अघि बढाइने बताएका थिए ।  

समीक्षा तथा सुझाव संकलन कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिवहरू भानुभक्त ढकाल, हिक्मतकुमार कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत उपस्थित थिए । 

कोशी प्रदेश तहमा एमालेका माथिल्लो तहका नेताहरूको उपस्थितिमा भएको यो छलफललाई तल्लो तहका नेता कार्यकर्ता भने उत्सुकताका साथ हेरेका छन् । एमालेले सातैवटा प्रदेश तहमा समीक्षा तथा सुझाव संकलन गर्ने जनाएको छ ।

View : 68

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved