Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराट गोल्डकपमा एपीएफलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा

२९ चैत २०८२, आइतवार

विराटनगर । विराटनगरको शहीद रङ्गशालामा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा उपाधि दाबेदार विभागीय टोली एपीएफ क्लब बाहिरिएको छ ।

आइतबार राति सम्पन्न निकै प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले पूर्वविजेता एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गरेको गोल नै जितका लागि निर्णायक सावित भयो ।

आशिष सोनामले मिलाइदिएको छड्के पासलाई सदुपयोग गर्दै समीरले उत्कृष्ट गोल गरेका थिए। निर्णायक गोलकर्ता समीर खेलको 'म्यान अफ द म्याच' घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पार्न सफल भए ।

खेलभरि आक्रामक लयमा देखिएको एपीएफले आधा दर्जनभन्दा बढी सुनौला अवसरहरू चुकाउँदा हार बेहोर्नुपर्यो ।

खेलको ४४ औँ मिनेटमा मणिकुमार लामाको कडा प्रहार पोष्टको थोरै माथिबाट बाहिरिएको थियो भने ५० औँ मिनेटमा प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै संकट टारेका थिए। ६३ औँ मिनेटमा सविन गुरुङको प्रहार पनि लक्ष्यहीन बन्न पुग्यो ।

यता ६९ औँ मिनेटमा चर्च ब्वाइजका सुरज गौतमले अग्रता दोब्बर बनाउने सुन्दर मौका पाए पनि उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो। २०७८ सालको विजेता एपीएफ यसपटक भने पहिलो खेलबाटै बाहिरिन बाध्य भएको छ ।

प्रतियोगिता अन्तर्गत आज सोमबार अर्को रोमाञ्चक खेल हुँदैछ। आजको क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र स्टार खेलाडीहरूले भरिएको मछिन्द्र फुटबल क्लब बीच शहीद रङ्गशालामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

View : 158

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved