विराटनगर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउन थालेको छ ।
सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत आपत्कालीन अवस्थामा सम्पर्क कायम राख्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट उपकरण जडान गर्न थालेको हो ।
एनसेलले सरकारी निकायसँगको समन्वयमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि महत्वपूर्ण र आवश्यक पहिचान भएका स्थानमा उपकरण जडान गरिरहेको जनाएको छ ।
सो प्रविधिमार्फत बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्यस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।
हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा स्याटलाइट सञ्चार सेवा सञ्चालनमा ल्याइएको र बाढी प्रभावित अन्य स्थानमा समेत सेवा विस्तार गर्ने काम भइरहेको एनसेलले जनाएको छ ।
स्याटलाइट प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ । त्यसपछि उक्त उपकरणमार्फत आसपासका क्षेत्रमा वाईफाई सेवा उपलब्ध गराइन्छ ।
सामान्य मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा पनि यसबाट इन्टरनेट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यस प्रविधिले उच्च गतिको तथा कम विलम्बता (लो लेटेन्सी) भएको इन्टरनेट सेवा उपलब्ध गराउने भएकाले प्रभावित नागरिक तथा उद्धारमा संलग्न टोलीले सन्देश आदानप्रदान, इन्टरनेट कल, आवश्यक सूचना प्राप्त गर्न, ब्राउजिङ तथा राहत कार्यको समन्वयमा प्रयोग गर्न सक्नेछन् ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले सडक पूर्वाधार तथा सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए ।
उनका अनुसार यसबाट उद्धार तथा राहत कार्य सहज हुनुका साथै कठिन परिस्थितिमा प्रभावित स्थानीयवासीलाई सम्पर्कमा रहन सहयोग पुग्नेछ ।
एनसेलले बाढी प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकलाई पहिलो दिनदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको कम्पनीले जनाएको छ ।
एनसेलले सडक अवरुद्ध तथा फाइबर नेटवर्कमा क्षति पुग्दा सञ्चार सम्पर्क प्रभावित हुने भएकाले विपद्को समयमा कनेक्टिभिटी सुविधा मात्र नभई जीवनरेखा बन्ने जनाएको छ ।
आपत्कालीन अवस्थामा प्रभावित समुदायलाई सम्पर्कमा राख्न उपलब्ध सबै सम्भावित प्रविधिको प्रयोगमा केन्द्रित रहेको कम्पनीको भनाइ छ ।
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved