Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

घुम्न जाँदा सल्लाह गरेका तीन युवाले खोले ‘द स्क्वायर’

उद्‌घोष संवाददाता
२१ भदौ २०८२, शनिवार

Advertisement

विराटनगर । विराटनगरको साउथ एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) बाट सन् २०२३ मा ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर कामको खोजीमा विदेशसम्म पुगेका तीन युवाले आफैं केही गर्ने सोचका साथ रेस्टुरेन्ट सुरु गरेका छन् ।

अमुल श्रेष्ठ, मिथिलेश मण्डल र ओमनिशा राईले विराटनगर–७ धाडेवा गल्लीमा शनिबारदेखि ‘द स्क्वायर’ नामको रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

कलेजको औपचारिक पढाइ सकेपछि उनीहरू एक दिन घुम्न गएका थिए । घुम्ने क्रममा तीन जनाले सल्लाह गरेर ‘अब यहीँ केही गरौं’ भन्ने सोच बनाएको बताए ।

‘सास्थमबाट पढाइ सकेपछि म दुबईमा रेस्टुरेन्टमा काम गरें, कतारमा इभेन्ट म्यानेजमेन्टमा पनि काम गरें, तर अर्काको काममा चित्त बुझिरहेको थिएन,’ अमुलले भने, ‘एक दिन घुम्न गएको बेलामा हामीले सल्लाह गरेका थियौं—आफैं केही गरौं भन्ने, अहिले त्यही योजनालाई पूरा गरेका हौं ।’

आफ्नै रेस्टुरेन्टका लागि उनीहरूले २५ लाख रुपैयाँ लगानी जुटाएका छन् । तीनै जनाले यही रेस्टुरेन्टबाट अघि बढ्ने निश्चय गरेका छन् । साथै १० जनाका लागि रोजगारी पनि सिर्जना गरेका छन् ।

रेस्टुरेन्टमा विभिन्न स्वादका मःम, चाउमिन, नुडल्स तथा अर्डरअनुसारका सबै नेपाली परिकार पाइने जनाइएको छ । त्यस्तै जापानी, कोरियन, चिनियाँ र थाई परिकारलाई नेपाली स्वादमा खान पाइने सञ्चालक श्रेष्ठले बताए । सी–फुड्स, सिराचा चिल्ली प्राउन, कलामारी रिङसमेत पाइने जनाइएको छ ।

रेस्टुरेन्टलाई आकर्षक बनाउन वरिपरि खुला राखिएको छ । एक पटकमा कम्तीमा ७० जना मानिस बसेर आफूलाई चाहिएको खानेकुरा अर्डर गरेर खान सक्ने गरी ठाउँको व्यवस्था गरिएको सञ्चालक ओमनिशा राईले बताइन् ।

विराटनगरका समाजसेवी दिलिप धाडेवाको घरको दोस्रो र तेस्रो तलामा यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । धाडेवाले समेत रेस्टुरेन्ट तयार गर्नका लागि महत्वपूर्ण सहयोग पुर्‍याएका छन् । सञ्चालकहरूले नयाँ सोचका साथ विभिन्न किसिमका कला र डिजाइन राखेर रेस्टुरेन्टलाई आकर्षक बनाएका छन् ।

‘विराटनगरमै यस्तो ओपन स्पेस भएको रेस्टुरेन्ट छैन । घरको माथिल्लो तला भएकोले वरिपरिबाट मिठो हावा आउँछ । त्यसैले यहाँ बसेर अर्डरअनुसारको खानेकुरा खान सबैलाई मन लाग्छ भन्ने विश्वास लिएका छौं,’ अर्का सञ्चालक मिथिलेश मण्डलले भने, ‘यो प्रयासलाई सबैले मन पराइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

View : 598

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved