विराटनगर । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् ।
यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने सो संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पु¥याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।
मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ ।
सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तर विषयक छलफलहरू समावेश गरिएका छन् ।
यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीनह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनीबार्न स्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटस २०२६ का आयोजक युयुत्सु शर्माले भने ‘साहित्य विलासिता होइन । यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो ।
यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो ।
यस महोत्सवले नेपालको गौरवलाई विश्व मञ्चमा उजागर गर्दछ’, उनले भने ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved