Biratnagar, Morang, Nepal
२२ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

उपभोक्ता जागरण अभियानमा पुनः  मार्सेली

उद्‌घोष संवाददाता
२१ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । उपभोक्ताको संवैधानिक अधिकार संरक्षण तथा स्वच्छ बजार प्रवर्द्धनमा क्रियाशील राष्ट्रियस्तरको संस्था ‘उपभोक्ता जागरण अभियान नेपाल’ को अध्यक्षमा पुनः कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ चयन भएका छन् ।  

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीमा सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले आगामी २ वर्षका लागि भण्डारीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षत्रयमा सुशिलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाललाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा चिन्तामणि पराजुली, सचिवमा शान्ता घिमिरे र बद्री विशाल घिमिरे, कोषाध्यक्षमा केशवप्रसाद चौलागाई तथा सहसचिवमा शेखर अधिकारी चयन भएका छन् ।

समितिको सदस्यहरूमा सहदेवप्रसाद वास्तोला, मुरारी वस्ती, प्रेमप्रसाद घिमिरे, मोहनकाजी न्यौपाने, यज्ञ शर्मा र नीलकण्ठ तिवारी छन् भने लक्ष्मण थापा र मणिकुमार अर्याललाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।  

सूचना आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न साधारणसभामा महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो ।

साधारणसभाले समसामयिक विषयमा विशेष प्रस्तावहरू पारित गर्दै उपभोक्ता हित संरक्षणका लागि सरकारसँग माग गरेको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा भोटेकोशीमा आएको भीषण बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको सडक अवरोधका कारण अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएकोप्रति संस्थाले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

यस विषम परिस्थितिमा बजारमा कालोबजारी र कृत्रिम अभाव जस्ता अनुचित व्यापारिक क्रियाकलाप हुनसक्ने जोखिम औँल्याउँदै प्रभावकारी बजार अनुगमन र वस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।

यस्तै, भोटेकोशी क्षेत्रमा बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित बस्तीका नागरिकको तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ध्यानाकर्षण गराइएको छ ।

संस्थाले व्यवसायी, उपभोक्ता र नियामक निकायबीच समन्वय गरी ‘जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता’ अभियानमार्फत सचेतना फैलाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

विसं २०७८ मा दर्ता भएको यस संस्थाले उपभोक्ता जागरणका लागि विद्यालयस्तरीय कार्यक्रम, नीतिगत तहमा सुझाव पेश तथा नियमनमा योगदान पु-याउँदै आएको छ ।

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा संस्था नेपाल सरकारबाट प्रशंसा–पत्रसहित सम्मानितसमेत भइसकेको छ ।

View : 101

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved