Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराट महेन्द्र रात्री माविको विव्यस अध्यक्षमा भारती

उद्‌घोष संवाददाता
६ चैत २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विराट महेन्द्र रात्री माध्यमिक विद्यालयको नौ सदस्यीय व्यवस्थापन समितिको अध्यक्षमा सुवास भारती चयन भएका छन् । बिहीबार गठन भएको विद्यालय व्यवस्थापन समितिलाई भारतीको अध्यक्षतामा शुक्रबार पूर्णता दिइएको हो ।

व्यवस्थापन समितिका सदस्यहरूमा मोदिना खातुन, दीपक माझी, गंगाप्रसाद विक, राखी कामत र दिलासा दाहाल चयन भएका छन् ।

त्यसैगरी, व्यवस्थापन समितिको आमन्त्रित सदस्यमा वडाध्यक्ष कुमार पोखरेल र शिक्षक प्रतिनिधिका रूपमा महेन्द्रप्रसाद पोखरेल चयन भएको विद्यालयका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले जानकारी दिए ।

यो विद्यालय रात्री समयमा पढाइ हुने नेपालकै दोस्रो र कोशी प्रदेशको एक मात्र विद्यालय हो । विद्यालयले स्थापनाको ६८ औँ वर्ष पूरा गरिसकेको छ ।

औद्योगिक एवं व्यापारिक क्षेत्रका रूपमा विराटनगरको विकास हुँदैगर्दा दिनभर काम गर्ने श्रमिक, कर्मचारी तथा आर्थिक रूपमा कमजोर वर्गका मानिसहरूलाई औपचारिक शिक्षा लिन सहज होस् भनेर यो विद्यालय स्थापना गरिएको थियो । विद्यालय हाल दिवा सत्र र रात्री सत्र दुवैमा सञ्चालन हुँदै आएको छ ।

हाल विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको कारण आगामी दिनमा विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनु नयाँ व्यवस्थापन समितिका लागि मुख्य चुनौती हुनेछ । विद्यालयले अहिले विद्यार्थी संख्या वृद्धि गर्न भर्ना अभियानका गतिविधि बढाउँदै लगेको प्रधानाध्यापक पराजुलीले जानकारी दिए ।

नवगठित विव्यस अध्यक्ष भारतीले श्रमिक तथा विभिन्न पेशामा काम गरिरहेका महिलाहरू अहिले पनि यस प्रकारको विद्यालय छ भन्ने जानकारी नपाएर पढ्ने अवसरबाट वञ्चित भइरहेको बताए । उनले आगामी शैक्षिक सत्रदेखि विद्यालयको प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने योजना रहेको जानकारी दिए ।

विद्यालयको पठनपाठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केही समस्याहरू रहेकोतर्फ आफू सचेत रहेको र आगामी दिनमा सबै सरोकारवालाबीच छलफल गर्दै विद्यालय सुधार गरिने उनले बताए ।

View : 149

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved