विराटनगर । उद्योगमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गरी औद्योगिक उपकरणहरूको सुरक्षित सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गराउने उद्देश्यका साथ २० जना प्राविधिकलाई इण्डष्ट्रियल कम्पोनेन्ट एण्ड डिभाइस रिपेयरिङ (मर्मतसम्भार) तालिम प्रदान गरिएको छ ।
उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित २० दिने तालिममा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरूको सहभागिता थियो ।
तालिम अवधिभर सहभागीहरूलाई औद्योगिक उपकरण र औजारहरूको संरचना र कार्यप्रणाली, फल्ट पहिचान तथा समस्या समाधान, उपकरणहरूको प्रयोग, इलेक्ट्रोनिक कम्पोनेन्ट परीक्षण, मर्मत प्रविधि, सुरक्षा मापदण्ड तथा औद्योगिक उपकरणहरूको प्रभावकारी संचालन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूको उत्पादनशीलता र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए ।
उनले उद्योगको आवश्यकता अनुरूप प्राविधिकहरूको सीप स्तरोन्नति गर्दै आधुनिक प्रविधिसँग परिचित गराउन संगठनले यस प्रकारको तालिम सञ्चालन गरेको बताए ।
साथै, उद्योगहरुका लागि आवश्यक प्राविधिक जनशक्ति विकास र हाल कार्यरत प्राविधिकहरूको क्षमता विकासका लागि संगठनले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै जाने जनाइएको छ ।
तालिमका प्रशिक्षक किरण मण्डलले उद्योग क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई व्यवहारिक ज्ञान र समस्या समाधान गर्ने क्षमता विकास गराउनु तालिमको प्रमुख उपलब्धि रहेको बताउँदै सहभागीहरूलाई प्राप्त सीपलाई निरन्तर अभ्यास मार्फत अझ सुदृढ बनाउन आग्रह गरेका छन् ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved