Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

अवैध नदीजन्य पदार्थ उत्खनन् रोक्न सुन्दरहरैँचा नगरपालिकाको सक्रियता

मणिराम दाहाल
५ असोज २०८३, सोमवार

Advertisement

सुन्दरहरैँचा । असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाजन्य पदार्थ उत्खनन बन्द गर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैध चोरी–निकासी नियन्त्रणलाई प्रभावकारी बनाएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी हुन नदिन नगरपालिकाले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सलकपुर तथा सशस्त्र प्रहरी बल लक्ष्मीमार्गको संयुक्त टोली परिचालन गरी दैनिक रूपमा बिहान, दिउँसो तथा रातको समयमा समेत गस्ती गर्दै आएको छ । नगरपालिकाको सक्रिय अनुगमनका क्रममा हालसम्म १५ वटाभन्दा बढी ट्याक्टर नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम प्रति टयाक्टर २५ हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको सुन्दरहरैँचा नगरपालिका राजस्व शाखा प्रमुख राजन रेग्मीले जानकारी दिए । 

रेग्मीका अनुसार कानुनले तोकेको बन्द अवधिमा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नगरपालिका निरन्तर रूपमा सक्रिय रहेको छ । रेग्मीले प्राकृतिक स्रोतको संरक्षणसँगै कानुनी व्यवस्था कार्यान्वयन गराउन नगरपालिका प्रतिबद्ध रहेको बताए । 

'बन्द अवधिमा नदीजन्य पदार्थको उत्खनन तथा चोरी–निकासी हुन नदिन नियमित अनुगमन र गस्तीलाई निरन्तरता दिएका छौँ । कानुन उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ, उनले भने ।

नगरपालिकाले नदीजन्य पदार्थको व्यवस्थित उत्खनन, संकलन तथा बिक्री–वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै सूचना समेत जारी गरिसकेको छ । 

वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक स्रोतको दिगो र व्यवस्थित उपयोग गर्ने नगरपालिकाको नीति रहेको जनाएको छ । 

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले प्राकृतिक स्रोतको संरक्षण सबैको साझा दायित्व भएको बताए । 

उनले कानुनी प्रक्रिया पूरा गरेर मात्र नदीजन्य पदार्थको उत्खनन तथा बिक्री–वितरण गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले अनुगमन, नियमन र कारबाहीको प्रक्रियालाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।

'नगरपालिकाको उद्देश्य प्राकृतिक स्रोतको दोहनलाई प्रोत्साहन गर्नु होइन, कानुन र वातावरणीय मापदण्डभित्र रहेर स्रोतको व्यवस्थित उपयोग सुनिश्चित गर्नु हो । नदी तथा खोलाको प्राकृतिक अवस्था र वातावरणीय सन्तुलन जोगाउँदै आवश्यक निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन गर्न नगरपालिका प्रतिबद्ध छ, कार्कीले भने ।

 कार्कीका अनुसार नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीका क्रममा तोकिएको मापदण्ड, प्रक्रिया र कानुनी व्यवस्थाको पूर्ण पालना गराउन नगरपालिका सम्बन्धित निकायसँगको समन्वयलाई अझ प्रभावकारी बनाउनेछ ।

पछिल्लो समय केही स्थानीय तथा सरोकारवालाले खोलामा जथाभावी उत्खनन हुने गरेको गुनासो गर्दै आएका छन् । नगरपालिकाले भने त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन, संयुक्त गस्ती तथा कानुनी कारबाहीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीय विकासका लागि आवश्यक नदीजन्य पदार्थको व्यवस्थित व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिका, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबीचको समन्वयलाई थप मजबुत बनाउने तयारीसमेत भइरहेको नगरपालिकाले जनाएको छ ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved