Biratnagar, Morang, Nepal
२९ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा मन्त्रालय भागबण्डा, नेकपालाई भौतिकसहित ४ मन्त्रालय

यता, सरकारबाट बाहिरिने बेलामा कांग्रेसका मन्त्रीहरुले कर्मचारीहरुको जथाभावी सरुवा गरेको भन्दै नेकपाले आपत्ति प्रकट गरेको छ ।
उद्‌घोष संवाददाता
२९ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेकपा एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भौतिक पूर्वाधार मन्त्रालयसहित ४ वटा मन्त्रालय लिने भएको छ । 

आउँदो सोमबार नेकपाका मन्त्रीहरुको सपथको तयारी भइरहेको छ । यद्यपि बिहीबार साँझसम्म पनि नेकपाले मन्त्रीको नाम भने टुंगो लगाउन सकेको छैन ।

नेकपा कोशी प्रदेशका इञ्चार्जसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको जानकारी अनुसार केन्द्रमा भएको सहमति अनुसार आफूहरुले भौतिक पूर्वाधार मन्त्रालय रोज्ने जानकारी दिए । 

‘केन्द्रमा दुई नेताबीच ५ बुँदे सहमति हुनुअघि नै कोशीमा नेकपाले ४ वटा मन्त्रालय लिने सहमति भइसकेको थियो,’ राईले भने ‘अब भौतिक मन्त्रालय लिएर हामी सरकारमा सहभागी हुन्छौं ।’ कोशीमा अहिले मुख्यमन्त्री कार्यालयसहित ९ मन्त्रालय छन् ।

साउन ९ मा भएको प्रदेश सरकारबारेको तीन बुदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच ५ बुदे अर्को सहमति भएको थियो । 

जस अनुसार प्रदेशमा मुख्यमन्त्री नपाउने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि अर्को दलले रोज्ने सहमति भएको थियो । 

कोशीमा यसअघि नेकपाकै सहयोगमा एमालेले उपसभामुख लिएको, संसदीय समितिका सभापतिहरु पनि लिएको तथा सबैजसो राजनीतिक नियुक्तिहरु पनि भइसकेका कारण नेकपाले ४ मन्त्रालय लिने कुरालाई बटमलाइन बनाएको नेता राईले बताए ।

नेकपा कोशी संसदीय दलमा मन्त्री बन्न खोज्ने आकांक्षीहरुको भने लामो लर्को छ । 

१७ सदस्यीय संसदीय दलमा १५ जना सांसद मन्त्री बन्ने दौडमा रहेपछि नेकपामा नाम टुंगो लगाउन सकस छ । केन्द्रले प्रदेशबाटै नाम टुंगो लगाउन भनेको नेताहरुले बताएका छन् । 

‘केन्द्रको निर्देशन र चासो त हुन्छ नै,’ नेकपाका एक नेताले भने ‘तर, मुख्य रुपमा यसपटक प्रदेश इञ्चार्ज, दल नेता र प्रदेश संयोजकले टुंगो लगाउने कुरा छ ।’

सरुवाप्रति नेकपाले आपत्ति

यता, सरकारबाट बाहिरिने बेलामा कांग्रेसका मन्त्रीहरुले कर्मचारीहरुको जथाभावी सरुवा गरेको भन्दै नेकपाले आपत्ति प्रकट गरेको छ । 

वन, पर्यटन तथा वातावरणसहितका मन्त्रालय अन्तरगतका विभिन्न कार्यालयका कर्मचारीहरुको सरुवा भएको र त्यसरी सरुवा गरिनुलाई नेकपाले गठबन्धन प्रतिको बेइमानी भनेको छ । 

‘सरकार छाडेर जानेबेलामा भएको कर्मचारी सरुवा आपत्तिजनक छ,’ नेकपा प्रदेश इञ्चार्ज राजेन्द्र राईले भने ‘यो गठबन्धनप्रतिको बेइमानी हो ।’

कांग्रेसले कोशी सरकार बुधबार छाडेको थियो । २०८१ भदौमा कांग्रेस  कोशी सरकारमा सहभागी भएको थियो । 

एमाले र कांग्रेसबीच बनेको समीकरणले तत्कालीन माओवादीलाई सरकारबाट बाहिर पुर्याएको  थियो । त्यसबेला सहभागी मन्त्रीहरु बिदा भएर कांग्रेसबाट नयाँ मन्त्रीहरु बनेका थिए । 

साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारहरू संयुक्त रूपमा सञ्चालन गर्ने तीन बुँदे सहमति भएपछि  कोशीसहितका ५ प्रदेशमा  सत्ता समीकरण फेरिएको थियो ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved