विराटनगर । निर्णायक घडीमा अनिर्णयको बन्दी बन्ने गरेको र नेतृत्व कौशल नदेखाएको आरोप झेलिरहेका कांग्रेसको कोइराला परिवारका सदस्यहरू फेरि पनि दुई ध्रुवमा विभक्त बनेका छन् ।
कोइराला परिवारबाट राजनीतिक रूपमा सक्रिय रहेका डा. शेखर र डा. संशाक शेरबहादुर देउवा पक्षमा उभिएका बेला सुजाता कोइराला भने गगन थापाको पक्षमा उभिएकी छन् ।
कांग्रेसको संस्थापनइतर देउवा खेमाले मंगलबार काठमाडौंमा राखेको छलफलमा डा. शेखर कोइराला र पूर्वमहामन्त्री डा. शशांक कोइराला उपस्थित रहे ।
कोइराला दाजुभाइलाई दायाँबायाँ राखेर नेता पूर्णबहादुर खड्काले बैठक चलाएका थिए ।
अर्कोतर्फ सुजाता कोइराला भने विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको धारमा खुलेर उभिएकी छन् । यसले कोइराला परिवार राजनीतिक रूपमा फेरि पनि विभक्त बन्न पुगेको हो ।
‘शेखर कोइरालाले निर्णायक बेलामा ढुलमुले चरित्र देखाउने शैली नछोडेको देखिन्छ,’ विराटनगरका एक कांग्रेस नेताले भने ‘उहाँले निर्णायक समयमा राजनीतिक निर्णय गर्नसक्ने क्षमता नदेखाएर गल्ती गर्नुभयो ।’
मंगलबार आयोजित भेलालाई देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकको निरन्तरताका रूपमा प्रस्तुत गरेको थियो ।
देउवा उपचारका लागि विदेशमा रहेकाले कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् ।
देउवाले गत असोज २८ गते खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए । तर, पुस अन्तिममा बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चयन गरेका थिए ।
शेखर कोइरालासहितका नेताहरू गगनकै हस्ताक्षरसहितको टिकटमा चुनाव लडेका थिए । चुनावमा पराजित बनेपछि कोइरालासहितका नेताहरूले फेरि गुट भेला थालेका हुन् ।
विशेष महाधिवेशनलाई अस्वीकार गर्दै अदालत पुगेका देउवा र शेखर पक्ष त्यहीबेलादेखि एकै मोर्चामा देखिएका छन् ।
विगतमा संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका शेखर कोइरालाले आफूलाई देउवा खेमामै समाहित गरेका छन् ।
‘अब उहाँले सभापति बन्ने तयारी गर्नुभएको हो,’ शेखर निकट विराटनगर महानगरका पार्टीका एक पदाधिकारीले भने ‘शेखर दाइले पार्टी नेतृत्व लिने तयारी गरिरहनु भएको हो ।’
कोइराला परिवारभित्रकी सुजाता कोइरालाको राजनीतिक ‘लाइन’ भने दाजुभाइको भन्दा फरक देखिन्छ ।
विशेष महाधिवेशनपछि उनी गगन थापा नेतृत्वको पक्षमा खुलेर लागेकी छन् । यसले कोइराला परिवारभित्रको परम्परागत एकता फेरि कमजोर बनेको आंकलन कांग्रेस वृत्तमा हुन थालेको छ ।
चुनावी पराजयपछि कांग्रेस एकताबद्ध बनेर अघि बढ्नुपर्ने बेलामा देउवा समूहले गुटबन्दी गरेको र सभापति बन्न पाइने लोभमा शेखर कोइराला त्यही समूहमा मिसिएको भन्दै कोइराला निकट कार्यकर्ताहरू नै असन्तुष्ट सुनिन्छन् ।
विशेष महाधिवेशनमा शेखर स्वयं सहभागी नभए पनि उनका केही निकट नेता सहभागी भएका थिए । त्यसपछि शेखर–देउवा सहकार्य अझ प्रष्ट बन्दै गएको छ ।
देउवा पक्षले पछिल्लो समय समानान्तर गतिविधि तीव्र पारेको छ—सांसदहरूलाई बधाई दिने कार्यक्रमदेखि जिल्ला सभापतिहरूको भेला आह्वानसम्म ।
ती कार्यक्रममा शेखर–देउवा निकट सांसदहरूको उपस्थिति देखिन्छ । देउवा समूहले अदालतमा विचाराधीन मुद्दाको अन्तिम टुंगो नलागेसम्म आफ्नो राजनीतिक सक्रियता जारी राख्ने संकेत दिएको छ ।
पार्टीको संस्थापन पक्ष भने देउवा समूहको गतिविधिप्रति असन्तुष्ट देखिएको छ । प्रवक्ता देवराज चालिसेले समानान्तर गतिविधिले पार्टीलाई क्षति पु¥याउने चेतावनी दिएका छन् ।
‘प्रजातान्त्रिक पार्टीमा फरक मत स्वाभाविक हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर त्यो असहमति समानान्तर संरचनामा रूपान्तरण हुनु पार्टीका लागि हितकर हुँदैन ।’
देउवा पक्षको बैठकमा कोइराला दाजुभाइसहित कोशी प्रदेशका देउवा कोइराला निकट नेताहरू पनि सहभागी भएका छन् ।
विजयकुमार गच्छदार, महेन्द्र सुब्बा, रामहरि खतिवडा, लक्ष्मी खतिवडा, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, उमेशजंग रायमाझी, भीम पराजुली, सीता गुरूङ र प्रदीप सुनुवार सहभागी भएका छन् ।
पराजुली र सुनुवार कोशी प्रदेश सरकारमा मन्त्रीसमेत छन् । यसैबीच कृष्णप्रसाद सिटौला समूहका प्रदेश सभापति उद्धव थापा भने देउवा समूहको भेलामा सहभागी भएनन् ।
उनी गगन थापा नेतृत्वको केन्द्रीय समितिमा सहभागी बन्दै आएका छन् । सिटौला देउवा समूहमै छन् ।
View : 233
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved