Biratnagar, Morang, Nepal
२८ जेठ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर विमानस्थलमा सञ्चालित चार रेष्टुरेन्टलाई १२ लाख जरिवाना

अनुगमन टोलीले जरिवाना गरेका व्यवसायीहरूले सात दिनभित्र जरिवाना वापतको रकम बुझाउनुपर्ने जनाइएको छ । त्यसरी जरिवाना रकम नबुझाए त्यसमा थप जरिवाना हुने जनाइएको छ ।
उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । यात्रुबाट अत्यधिक मूल्य असुल गर्ने विराटनगर विमानस्थलभित्रका चारवटा क्याफे तथा रेन्टुरेन्टहरूलाई तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको छ ।

विमानस्थल पुग्ने यात्रुबाट अंकित मूल्यभन्दा अत्यधिक धेरै मूल्य असुल गरेको प्रमाणका क्रममा उनीहरूलाई सरकारी अनुगमन टोलीले एकैपटक १२ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

लामो समयदेखि मनपरी मूल्य लिंदै आएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार अनुगमन टोलीले आकस्मिक अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा यात्रुबाट अत्यधिक धेरै मूल्य लिएर खाद्य तथा पेय पदार्थ विक्री गरेको प्रमाणसहित फेला परेपछि तत्कालै उक्त रकम जरिवाना गरिएको जनाइएको छ । 

अनुगमनका क्रममा विमानस्थलभित्रको ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्कलाई २०० रुपैयाँ, ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँको कोकाकोलालाई १६० रुपैयाँ, गरिमा क्याफेले ५० रुपैयाँको कोकाकोलालाई ८० रुपैयाँ र अनुकुल होटेल एण्ड भान्सा घरले ८ रुपैयाँको चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको बिल र अन्य प्रमाण फेला परेको जनाइएको छ ।

सोही प्रमाणहरूका आधारमा चारवटै क्याफे तथा रेष्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तरतको कसुर कायम गरी दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । 

आकस्मिक अनुगमन गर्दा व्यवसायीहरूले वस्तु तथा खाद्य सामग्रीमा अस्वाभाविक मूल्य लिएर उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गरेको पुष्टि भएका कारण जरिवाना गर्नुपरेको उनले बताए ।

अनुगमन टोलीले जरिवाना गरेका व्यवसायीहरूले सात दिनभित्र जरिवाना वापतको रकम बुझाउनुपर्ने जनाइएको छ । त्यसरी जरिवाना रकम नबुझाए त्यसमा थप जरिवाना हुने जनाइएको छ । 

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदीलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

View : 61

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved