Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वकै पहिलो घर निर्माण प्रदर्शनी सुरु

उद्‌घोष संवाददाता
१३ चैत २०८२, शुक्रवार

विराटनगर । घर निर्माण क्षेत्रलाई चलायमान बनाउन विराटनगरमा पहिलो पटक बिहीबारदेखि घर निर्माण प्रदर्शनी सुरु भएको छ । 

स्वदेशी उत्पादन प्रवद्र्धन र उद्योगी–उद्योगी तथा उद्योग–उपभोक्ताबीचको सम्बन्धलाई अझ नजिक बनाउन आयोजना गरिएको प्रदर्शनीको भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो । 

निर्माण क्षेत्रको समग्र विकास, नवप्रवर्तनको प्रवद्र्धन र सुस्त बन्दै गएको बजारलाई चलायमान बनाउने उद्देश्यसहित उद्योग संगठन मोरङको नेतृत्वमा विराटनगरमा प्रदर्शनी आयोजना गरिएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरेका छन् । उनले प्रदर्शनीले घर निर्माण चाहिरहेका मानिसहरूको चिन्ता हटाउन प्रदर्शनी सफल हुने विश्वास व्यक्त गरे ।

यस्तै प्रकारका वस्तुगत तथा उत्पादन केन्द्रित प्रदर्शनीको आवश्यकता रहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रदर्शनीको अवलोकनबाट हुने फाइदालाई आम मानिसमा पु¥याउन आवश्यक रहेको पनि उनले बताए । 

मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रमा अहिलेसम्म पनि प्रदर्शनीस्थल निर्माण हुन नसक्नुमा प्रदेश सरकारको कुनै पनि अवरोध नरहेको स्पष्ट पारे । उनले प्रदेश सरकारले प्रदर्शनीस्थल निर्माणका लागि जग्गाको प्रक्रिया अघि बढाउँदा विभिन्न पक्ष लागेर भाँडेको गुनासो गरे । 

अहिले प्रदेश सरकारले निजी क्षेत्रलाई जग्गा उपलब्ध गराउने कानुन नभएको बताउँदै जग्गाको व्यवस्था गरे प्रदेश सरकारले प्रदर्शनीस्थल निर्माणका लागि लगानी जुटाउने आश्वासन दिए ।

‘प्रदेशले जग्गा दिन सक्दैन, जग्गाको खोजी गर्नुहुन्छ भने एक्जिविशन हल निर्माणका लागि पैसा प्रदेशले हालिदिन सक्छौं’ उनले भने, ‘यस्ता प्रदर्शनीका माध्यमबाट सुरक्षित घर निर्माणमा टेवा पुग्नेछ, प्रदेश सरकारले घरबिहिनहरूका लागि बनाइदिने घर निर्माणमा निजी क्षेत्रले अघि सारेको प्रविधिसँग सहकार्य गर्न सकिन्छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्रदर्शनीले निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण ‘इकोसिस्टम’ लाई एउटै थलोमा ल्याउने बताए । उनले कच्चा पदार्थ आपूर्तिदेखि डिजाइन, निर्माण, सजावट र मर्मतसम्मका सबै पक्ष समेटेर प्रदर्शनी आयोजना गरिएको बताए ।

संगठनका उपाध्यक्ष एवं प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले प्रदर्शनीले नेपाली निर्माण सामग्री तथा सेवाको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

निर्माण क्षेत्रसँग सम्बन्धित उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्तालाई एउटै थलोमा ल्याएर नवप्रवर्तन प्रदर्शन र नयाँ साझेदारी विकास गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरेको जानकारी दिए । 

यस्ता प्रदर्शनीले आयातमा निर्भरता घटाउँदै निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा समेत योगदान पुर्याउने बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको विकास खर्च बढाउनका लागि कोशी प्रदेशका उद्योगका उत्पादनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने धारणा राखे । 

उनले अझै पनि सरकारले विराटनगरमा प्रदर्शनीस्थल निर्माण गर्न नसक्नुले आफूहरू दुखित भएको बताए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले अहिलेको निर्यात व्यापारमा घर बनाउने निर्माण सामाग्रीको योगदान ठूलो रहेको बताए । 

संगठनले घर निर्माण प्रदर्शनीको आयोजना गरेर सबै उद्योगीहरूबीचको सहकार्यलाई बढाएको र उर्जा दिएको बताए । 

प्रदर्शनीमा भूकम्प प्रतिरोधी निर्माण, विद्युत तथा अग्नि सुरक्षा, स्मार्ट डिजाइन, होम अटोमेसन, सौर्य प्रणाली, वातावरणमैत्री निर्माण, वाटर रूफिङ तथा पुराना संरचनाको सुदृढीकरणजस्ता विषयमा विशेषज्ञ सत्र सञ्चालन गरिंदैछन् । 

चैत १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित ७५ वटा सामग्रीका स्टलहरू समावेश छन् ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved