Biratnagar, Morang, Nepal
२६ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी ग्यास उद्योगलाई २ लाख ९० हजार जरिवाना

उद्‌घोष संवाददाता
२६ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनलाई तीब्र पार्दै एलपी ग्यास वितरणमा गडबडी गर्ने उद्योग र अनुगमनमा असहयोग गर्ने डिलरलाई कारबाही गरेको छ । 

प्रशासनले मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रालिले कम तौलको ग्यास बेचेको भन्दै २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । 

उद्योग परिसरमा रहेका १ सय ४३ वटा भरिएका सिलिण्डरमध्ये ६४ वटाको तौल जाँच गर्दा एउटा सिलिण्डरमा मापदण्ड भन्दा कम अर्थात् १३.७४५ केजी मात्र ग्यास फेला परेपछि तत्काल उक्त जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।

बाँकी ६३ वटा सिलिण्डरको औसत तौल पनि १४.१८५ केजी मात्र पाइएकाले थप कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

अनुगमनका क्रममा कोशी ग्यास उद्योगको खाली सिलिण्डरहरूको तौल जाँच गरिएको थियो । त्यसरी जाँच गर्दा १० वटा मध्ये ९ वटा सिलिण्डरको फलामको तौल नै तोकिएभन्दा १०० देखि १५० ग्राम बढी पाइएको सहायक प्रजिअ कोइरालाले बताए ।

खाली सिलिण्डरको तौल बढी देखाएर उपभोक्तालाई कम ग्यास भरी गडबडी गरेको पुष्टि भएपछि उद्योगविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको उनले बताए । 

यसअघि गत साउन २३ गते गरिएको अनुगमनमा समेत अत्यावश्यक सेवा अन्तर्गत पर्ने कोशी ग्यास उद्योग बन्द अवस्थामा भेटिएको जनाइएको छ । 

त्यसपछि उद्योगलाई प्रशासन कार्यालयले स्पष्टीकरणसहितको कारबाही अघि बढाएको थियो ।

यसैबीच, साउन १७ गते गरिएको बजार अनुगमनका क्रममा अनुगमनकारी निकायलाई असहयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

उपभोक्ता हित विपरीत कार्य गर्ने र अनुगमनमा अवरोध पु¥याउने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने सहायक प्रजिअ कोइरालाले बताए ।

View : 82

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved