Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा कांग्रेस इतर पक्षको भेला आज, संवादको प्रस्ताव वेवास्ता गरेको संस्थापन पक्षको आरोप

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरण गर्दै नयाँ राजनीतिक सन्देश दिएको नेपाली कांग्रेसमा पुराना शक्ति केन्द्रहरू फेरि सक्रिय हुन थालेका छन् । 

पार्टीभित्र विवाद समाधानका लागि संवाद, छलफल र सहमतिमार्फत अघि बढ्नुपर्ने आवाज उठिरहेका बेला संस्थापन इतर पक्षले आइतबार विराटनगरमा शक्ति प्रदर्शनसहितको भेला आयोजना गर्दै नेतृत्वमाथि दबाब बढाउने तयारी गरेको छ । 

भेलाको पूर्वसन्ध्यामा कांग्रेसका नेता विश्वप्रकाश शर्माले शनिबार डा. शेखर कोइरालासहित पार्टीका पाँच नेताहरूलाई लिखित ध्यानाकर्षण पत्र पठाएका छन् । 

उनले आफूले अघि सारेको सातबुँदे प्रस्तावमाथि कुनै छलफल हुन नसकेको भन्दै डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालासँग संवादको पहल गर्न आग्रह गरेका छन् । 

यद्यपि संस्थापन पक्षले पठाएको सातबुँदे प्रस्तावप्रति इतर पक्षका नेताहरूले आपसी छलफल नै नगरेको बरु भेटघाट र छलफल नभएको भन्दै अभिव्यक्ति दिएको नेताहरू बताउँछन् । 

उपसभापति शर्माले शनिबार ध्यानाकर्षण पत्र पठाइरहँदा ती नेताहरू आइतबार विराटनगरमा हुने संस्थापन इतर पक्षको भेलामा सहभागी हुँदैछन् । 

कांग्रेसभित्र अहिले पनि संवादभन्दा शक्ति प्रदर्शन र सहमतिभन्दा समूहगत गतिविधिले बढी प्राथमिकता पाइरहेको संकेत गरेको नेताहरू बताउँछन् । 

पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको कार्यतालिका, सदस्यता अध्यावधिक प्रक्रिया र नेतृत्वको कार्यशैलीलाई लिएर इतर पक्षले विराटनगरमा दबाबमूलक भेला आयोजना गर्न लागेको जानकारी शनिबार पत्रकार सम्मेलन गरेर दिएको छ । 

आयोजकहरू यसलाई कार्यकर्ताको भावना व्यक्त गर्ने कार्यक्रम भनेका छन् । यद्यपि संस्थापन निकटहरूले भने यसलाई विशेष महाधिवेशनपछि कमजोर बनेको पुरानो शक्ति समूहले पार्टीभित्र फेरि शक्ति आर्जन गर्न गरिरहेको चलखेल भनिरहेका छन् । 

संस्थापन इतर पक्षले सभापति गगन थापासहितको टिमले संवादको पहल नगरेको भन्दै आएको छ । तर, उपसभापति शर्माले जेठ १६ गते नै पूर्णबहादुर खड्कालाई पार्टी रूपान्तरणसँग सम्बन्धित सात बुँदे प्रस्ताव बुझाएको बताइएको छ । त्यसबारे इतर पक्षमा कुनै छलफल नभएपछि जेठ २२ गते खड्कालाई भेटेरै आफ्नो धारणा राखेको उनले बताएका छन् । 

शनिबार ५ नेतालाई पठाएको पत्रमा शर्माले आफूले निरन्तर संवादको प्रयास गरिरहेकै बेला जेठ २४ गते खड्काले सामाजिक सञ्जालमा कुनै संवाद नभइरहेको आशयको सन्देश सार्वजनिक गरेको उल्लेख गरेका छन् । 

त्यसपछि जेठ २६ गते उनले नेताहरूलाई ह्वाट्सएपमार्फत सातबुँदे प्रस्ताव पठाएका थिए । तर त्यसपछि पनि न छलफल भएको सुनिएको, न कुनै प्रतिक्रिया प्राप्त भएको उनको गुनासो छ ।

‘पार्टीभित्र विवाद उत्पन्न हुँदा त्यसलाई हल गर्ने लोकतान्त्रिक प्रक्रिया भनेकै भेट, संवाद र लिखित प्रस्ताव हो,’ शर्माले पत्रमा लेखेका छन्, ‘शान्त चित्तले सातबुँदे प्रस्ताव अध्ययन गरेर त्यसमा थप्ने, घटाउने वा परिमार्जन गर्ने विषयमा चाँडै छलफल हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले आवेगभन्दा विवेक र आरोप–प्रत्यारोपभन्दा संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन् । 

यसरी संस्थापन पक्षको प्रस्तावलाई पूरै वेवास्ता गर्दै कोशी प्रदेशमा संस्थापन इतर पक्षले आइतबार विराटनगरमा आयोजना गर्न लागेको भेलालाई शक्ति प्रदर्शनका रूपमा लिइएको छ । 

आयोजकका अनुसार कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

भेलामा डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा देखिने कार्यक्रम छ । भेलाको अगुवाई गरिरहेका कोशीका महामन्त्री भूपेन्द्र राईले नेतृत्वले समयमै समस्या पहिचान गरेर समाधानतर्फ अग्रसर हुनुपर्ने बताउँदै पार्टी एकताका लागि नै भेला गरिएको दाबी गरेका छन् । 

यद्यपि कार्यक्रमको स्वरूप, सहभागी नेताहरूको पृष्ठभूमि र उठाइएका विषयले यो भेला संस्थापनविरुद्धको शक्ति प्रदर्शनजस्तो देखिएको कांग्रेसकै नेताहरू बताउँछन् । 

कोशीमा यसअघि विरलै मात्रै संयुक्त कार्यक्रम गर्दै आएका शेरबहादुर देउवा र शेखर कोइराला पक्षले संयुक्त कार्यक्रम गरेका बेला केन्द्रीय सदस्य राजीव कोइराला पनि सहभागी बन्ने चर्चा चलेको थियो । तर, कोइराला निकट स्रोतका अनुसार उनी सहभागी नहुने पक्का भएको छ । 

कोशीमा संस्थापन इतर पक्षले भेला आयोजना गर्न लागेको यो दोस्रोपटक हो । 

यसअघि विराटनगरमा जेठ पहिलो साता आयोजना भएको भेलामा नेता कृष्णप्रसाद सिटौला मुख्य वक्ता बनेर आएका थिए । 

तर, भेलामा सिटौला निकट नेताहरू नै अनुपस्थित रहेका थिए । सहभागी संख्या ज्यादै थोरै भएपछि नेता सिटौलाले जेठ १० मा ठूलो भेला गर्न र पार्टी सदस्यता अद्यावधिक नगर्न भनेका थिए । 

तर, जेठ १० मा संस्थापनइतर पक्षले सुदुरपश्चिम भेला गरेको थियो । अहिले कोइराला र देउवा र सिटौला तीनै पक्षले मिलेर भेला गर्न लागेका हुन् ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved