विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट राजीनामाको दबाब आएपछि मंगलबार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौंतिर लागे ।
ओलीको बोलावटमा उनी काठमाडौं जाँदै गर्दा कोशी एमाले संसदीय दलमा भने कार्की र तिलकुमार मेन्याङ्बो दुवै पक्षले सांसद आफ्नो पक्षमा तान्ने तीव्र कसरत गरिरहेका छन् ।
त्यसो त मुख्यमन्त्री कार्कीले दल नेता हटाउन दुई तिहाइ चाहिने बुँदा संसदीय दल विधानमा थपेको भन्दै तिलकुमार मेन्याङ्बो पक्ष रुष्ट छ । तर, पार्टीले अनुमोदन नगरेका कारण विधानको उक्त प्रावधान लागू नहुने निश्चित भएपछि कार्की र मेन्याङ्बो दुवै समूह बहुमत जुटाउने कसरतमा छन् ।
एकातिर कार्की आफ्नो पद जोगाउने रणनीतिमा छन् भने अर्कोतर्फ अध्यक्ष ओलीले अघि सारेका संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।
एमाले स्रोतका अनुसार अहिले दुवै पक्षको मुख्य ध्यान संसदीय दलभित्र संख्या सुरक्षित गर्नेमा केन्द्रित छ । कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० सांसद छन् । तीमध्ये कसको पक्षमा बहुमत पुग्छ भन्ने हिसाब–किताब अहिले दलभित्रको सबैभन्दा ठूलो प्रतीक्षाको विषय बनेको छ ।
कोशीका एक नेताका अनुसार सांसदहरूलाई आफ्नो पक्षमा पार्न विभिन्न तहमा छलफल, भेटघाट र मनाउने अभियान चलिरहेको छ । ‘दुवै पक्षले सांसदसँग लगातार सम्पर्क गरिरहेका छन् ।
कसैलाई मन्त्री बनाउने आश्वासन छ, कसैलाई भविष्यको राजनीतिक भूमिका देखाइँदैछ । आफ्नो पक्षमा बहुमत देखाउने होड चलेको छ’ एमालेका एक नेताले भने ।
दलभित्रको यो गतिविधि सार्वजनिक रूपमा देखिएको छैन । तर पछिल्ला केही दिनयता विराटनगर र काठमाडौंबीच नेताहरूको आवतजावत, लगातार भएका छलफल र सांसदहरूसँगको व्यक्तिगत भेटघाटले शक्ति संघर्ष चरममा पुगेको संकेत गरिरहेको नेताहरू बताउँछन् । यही शक्ति संघर्षबीच मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं पुगेका छन् ।
अध्यक्ष ओलीले महासचिव शंकर पोखरेलमार्फत उनलाई छलफलका लागि बोलाएका थिए ।
‘अहिले पनि मुख्यमन्त्री गुण्डुमा ओलीसँगको छलफलमै हुनुहुन्छ,’ मंगलबार राति एमालेका एक सांसदले भने ‘अबेरसम्मै छलफल चल्छ जस्तो छ । के निष्कर्ष हो भन्ने थाहा हुन सकेको छैन ।’
मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत शीर्ष नेतासँग अहिलेको विवादबारे विस्तृत छलफल गर्ने तयारीसहित कार्की काठमाडौं पुगेका छन् ।
एमाले नेताहरूका अनुसार काठमाडौंमा हुने चरणबद्ध छलफलले कार्की मुख्यमन्त्रीमा निरन्तर रहने कि नेतृत्व परिवर्तन गर्ने भन्ने विषयको दिशा तय गर्न सक्छ ।
अध्यक्ष ओलीले लगातार मार्गप्रशस्त गर्न दबाब दिइरहे पनि कार्की भने अहिलेसम्म पछि हटेका छैनन् । उनले आफू व्यक्तिको आदेश होइन, संस्थागत निर्णय मान्ने अडानमै रहेको सन्देश दिइरहेका छन् ।
उनको आत्मविश्वासका पछाडि दुईवटा आधार रहेको उनी निकट नेताहरू बताउँछन् । पहिलो, उनी संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत बनेको सरकारका मुख्यमन्त्री हुन् ।
यस्तो सरकार सामान्य बहुमतको सरकारजस्तो पार्टीको आन्तरिक निर्णयले मात्रै परिवर्तन नहुने उनको बुझाइ छ ।
दोस्रो, एमालेभित्र पछिल्ला महिनाहरूमा संस्थागत निर्णय प्रक्रियाको माग बलियो बन्दै गएको छ । अध्यक्षको मौखिक निर्देशनभन्दा सचिवालय वा सक्षम पार्टी निकायको औपचारिक निर्णय हुनुपर्ने धारणा बलियो बन्दै गएको उनी निकटहरूको दाबी छ ।
मुख्यमन्त्री कार्कीलाई पार्टीभित्र रुपान्तरण अभियान चलाइरहेका सचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको समेत साथ रहेको चर्चा एमालेभित्र छ ।
अध्यक्ष ओली भने कोशीको नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा छन् । त्यसकै तयारीस्वरूप पछिल्ला केही सातादेखि दलभित्र हस्ताक्षर अभियान, नयाँ नेतृत्वको तयारी र संख्या गणनाको चर्चा चल्दै आएको छ ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved