विराटनगर । फागुन २१ को चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुनु अघिसम्म पनि धरानका तत्कालीन मेयर हर्क साम्पाङ सबैको तानातानमा थिए ।
काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा भित्र्याएर देशव्यापी जनलहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी होस् या रास्वपामा मिसिएर १२ दिनमै बाहिरिएका उज्यालो नेपालका कुलमान घिसिङ, हर्कसँग पार्टी एकता गर्ने ध्येयमा रहेको चर्चा थियो ।
कुलमान घिसिङ र उनको टिम त चुनावअघिसम्म पनि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्यको प्रस्ताव गरिरहेका थिए ।
‘कुलमानजीको पार्टीको टिमले हाम्रो अध्यक्षलाई चुनावी सहकार्यका लागि चुनावको केही दिनअघिसम्म पनि प्रस्ताव पठाइरहेको थियो’ श्रम संस्कृति पार्टीका एक पदाधिकारीले भने, ‘तर हाम्रो अध्यक्षज्यूले एक्लै अघि बढ्ने हो भन्ने अडान छोड्नु भएन ।’
अहिले चुनावी लहर ल्याएको रास्वपा होस् या केही क्षेत्रमा राम्रो मतसंख्या ल्याएको उज्यालोसँग एकता र चुनावी सहकार्य अस्वीकार गरेका हर्क साम्पाङको दलले कोशी प्रदेशमा भने प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ । कोशीकै ३ क्षेत्रमा दोस्रो बनेको छ ।
२०७९ मा धरानमा स्वतन्त्र उठेर मेयर जितेका साम्पाङले यही वर्ष मात्रै पार्टी स्थापना गरेका थिए ।
जेनजी आन्दोलनलगत्तै बनेको नागरिक सरकारमा प्रधानमन्त्री हुन इच्छा देखाएका उनले त्यो अवसर त पाएनन् । त्यसपछि बालेन शाहसँग असन्तुष्ट रहेका उनले बालेनलाई नै लक्ष्य गर्दै एकपछि अर्को स्टटास लेख्दै र बोल्दै रोष प्रकट गरेका थिए ।
बालेनकै नेतृत्वमा रास्वपाले चुनावी लहर सिर्जना गरेर उनलाई प्रधानमन्त्री बनाउने निश्चित भइसक्दा पनि हर्क भने बालेनभन्दा रविलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
बालेनले पनि उनको स्टासमा पहिलेझैं माया गरिरहने भनेर प्रतिक्रिया दिएका छन् ।
यसपटकको चुनावमा मुलुकभर बालेनका नाममा रास्वपाले लहर ल्याउँदा पनि बालेनविरूद्ध लगातार उभिएका हर्कले कोशी पहाडमा भने रास्वपाको लहर रोकेको चुनावी नतिजाले देखाएको छ ।
कोशी प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमै श्रम संस्कृति पार्टी उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो ।
अधिकांश निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा उक्त पार्टीका उम्मेदवार देखिए ।
श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ वटा निर्वाचन क्षेत्र सुनसरी–१, खोटाङ र भोजपुरमा जित हात पारेको छ ।
धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका अध्यक्ष हर्कराज राई साम्पाङ सुनसरी–१ बाट ३५ हजार ७ सय ४१ मतका साथ विजयी भए ।
उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २७ हजार २ सय ४९ मत ल्याउँदै दोस्रो भइन् । एमालेका उम्मेदवार टीकाराम लिम्बु तेस्रो भए ।
उनले ६ हजार ४ सय ६३ मत पाए । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका अशोककुमार राई विजयी बनेका थिए ।
अहिले हर्कसँग पराजित भएकी गोमा २०७९ को निर्वाचनमा रास्वपाबाटै चुनावी प्रतिस्पर्धामा थिइन् । उनले १६ हजार ६ सय मत पाएकी थिइन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका २९ वर्र्षीय आरेन राई विजयी भएका छन् ।
उनले १६ हजार ६ सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४ मत पाए ।
प्रतिस्पर्धामा तेस्रो भएका कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ मत पाए । २०७९ निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका रामकुमार राई विजयी भएका थिए ।
भोजपुरमा पनि श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६ सय ६३ मतका साथ विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री भइसकेका एमालेका शेरधन राईले १४ हजार ७ सय ५० मत प्राप्त गर्दै दोस्रो भए ।
पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ १७ हजार २ सय ३३ मत ल्याएर विजयी हुँदै गर्दा श्रम संस्कतिका हस्तराज शेर्मा दोस्रो भए । उनले १४ हजार ७ सय ३४ मत पाए ।
इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४ सय २६ मत ल्याएर विजयी हुँदा कांग्रेसका भेषराज आचार्य दोस्रो भए ।
उनले १४ हजार ६ सय ५० मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राई तेस्रो भए । उनले १४ हजार ४ सय मत ल्याएका छन् ।
झापा–१ मा रास्वपाकी निशा डाँगी जित्दा कांग्रेसका केशवराज पाण्डे दोस्रो र श्रम संस्कृतिका केवलराम राई १० हजार ४ मतका साथ तेस्रो भए ।
झापा–२ मा पूर्व उपसभामुख एवं रास्वपाकी इन्दिरा राना मगर ६० हजार १ सय १० मतकासाथ विजयी भइन् ।
जहाँ पूर्व सभामुख एवं एमालेका देवराज घिमिरे ११ हजार ३ सय ६८ मतका साथ दोस्रो र पनि श्रम संस्कृतिका केशवकुमार भण्डारी ७ हजार २ सय ९१ मतका साथ तेस्रो भए ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले जित हासिल गरेको झापा–५ मा पनि श्रम संस्कृति पार्टी तेस्रो प्रतिस्पर्धी रह्यो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङ तेस्रो भए ।
तामाङले ९ हजार २ सय ३३ मत पाए । धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १ सय ३२ मत ल्याएर र विजयी भएका छन् ।
कांग्रेसका दिनेश राई १४ हजार २ सय ५७ मत ल्याएर दोस्रो भए भने श्रम संस्कृतिका सानबहादुर राई ११ हजार ९ सय ३२ मतका साथ तेस्रो भए ।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ६ सय ६७ मत ल्याएर जियी हुँदा श्रम संस्कृतिका शान्तिदेवी पाख्रिन लामा दोस्रो भइन् । उनले १७ हजार ५ सय २२ मत पाइन् ।
मोरङ–३ मा रास्वपाका गणेश कार्कीले जित्दा कांग्रेसका सुनिल शर्मा दोस्रो र श्रम संस्कृतिका अमीर मगर १६ हजार ५ सय ९ मत ल्याएर तेस्रो भए ।
उदयपुर–१ मा रास्वपाका पारशमणि गेलाल ३० हजार ५ सय ९० मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका राजेशकुमार राई दोस्रो बने । उनले ११ हजार ६ सय ६ मत पाएका छन् ।
यसरी भर्खरै दल खोलेर संसदीय यात्रामा अघि बढेका हर्क साम्पाङको दलले पहिलो प्रयासमै प्रचण्ड नेतृत्वको नेकपाभन्दा ठूलो दल बनेको छ ।
कोशीका २८ सिटमध्ये कुनैमा पनि नेकपा विजेता बन्न सकेन । नेकपाका उम्मेदवारहरू दोस्रोसमेत बन्न सकेनन् ।
View : 83
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved