एनवाईईएफ विराटनगरमा कट्टेल
विराटनगर । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको बुधबार सम्पन्न वार्षिक साधारणसभाबाट सन् २०२६ का लागि रोमन कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
च्याप्टरको निवर्तमान अध्यक्ष (आईपीपी) मा सञ्जीव सिग्देल, प्रथम उपाध्यक्षमा रितेश खनाल र द्वितीय उपाध्यक्षमा संयम श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरूमा सागरराज ढुंगाना, अर्नेष्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंगिका गिरी, अनुभव ढकाल, श्लोक रिजाल, धिरज शर्मा, हेमन्त अग्रवाल र विकिमा कर्मचार्य चयन भएका छन् ।
साधारणसभाको अवसरमा सन् २०२५ का अध्यक्ष सञ्जीव सिग्देलले पनि वर्षभरि आफ्नो कार्यकालमा गरेका उद्यमशीलता प्रवद्र्धन र युवा उद्यमीहरूको क्षमता विकासका लागि गरेका उल्लेखनीय गतिविधिबारे जानकारी दिए ।
उनले पछिल्लो एक वर्षमा गरेका उद्यमशीलता प्रवद्र्धनदेखि नेतृत्व विकास, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व तथा नेटवर्क विस्तारसम्मको कामलाई बार्षिक साधारणसभामा प्रस्तुत गरे ।
युवा उद्यमीहरूबीच अनुभव आदानप्रदान, प्रेरणादायी अन्तरक्रिया, औद्योगिक भ्रमण, साइक्लिङ अभियान, सामाजिक सचेतनामूलक कार्यक्रम तथा उद्यमशीलतासम्बन्धी सम्मेलनहरूका साथ पूरा भएको उनले बताए । उनले यस्ता गतिविधिले युवा व्यवसायीहरूबीच सहकार्य, सिकाइ र आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको दाबी गरे ।
च्याप्टरले सञ्चालन गरेका प्रेरणादायी सिकाइ सत्रमार्फत अनुभवी उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष संवादको अवसर प्रदान गरिएको थियो ।
ती सत्रहरूमा व्यवसाय सञ्चालनका चुनौती, नवीन सोच, नेतृत्व विकास तथा बजारका अवसरबारे अनुभव र ज्ञान आदान–प्रदान गरिएको अध्यक्ष सिग्देलले बताए ।
उद्योग तथा व्यवसायलाई नजिकबाट बुझाउने उद्देश्यले बञ्जारा एग्रो फार्मलगायत विभिन्न उद्योग तथा उत्पादनस्थलहरूको औद्योगिक भ्रमणसमेत आयोजना गरिएको जनाइएको छ ।
स्वस्थ जीवनशैली र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘कोरा साइक्लिङ’ अभियानमा पनि एनवाईईएफ विराटनगर च्याप्टरको सक्रिय सहभागिता रहेको, वातावरण संरक्षण, स्वास्थ्य तथा सामुदायिक उत्तरदायित्वप्रति युवालाई सचेत गराउने उद्देश्यका साथ सदस्यहरू अभियानमा सहभागी भएको सिग्देलले बताए ।
एक बर्षभित्र उद्योगी–व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा युवा उद्यमीहरूको सहभागितामा अन्तरक्रिया र छलफल कार्यक्रमहरू सञ्चालन गरेको जनाइएको छ । उद्योग, व्यापार, लगानी, नवप्रवर्तन तथा नेतृत्व विकासका विषयमा केन्द्रीत कार्यक्रमहरूले नयाँ पुस्ताका उद्यमीलाई थप प्रेरणा प्रदान गरेको च्याप्टरले जनाएको छ ।
युवा उद्यमी सम्मेलनजस्ता राष्ट्रियस्तरका कार्यक्रममा पनि विराटनगर च्याप्टरको सक्रिय उपस्थिति रहेको र त्यस्ता कार्यक्रममार्फत स्थानीय उद्यमीलाई राष्ट्रिय सञ्जालसँग जोड्दै नयाँ सम्भावना र सहकार्यका अवसर सिर्जना भएको जनाइएको छ ।
युवा उद्यमीलाई सक्षम, जिम्मेवार र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएका गतिविधिले विराटनगर तथा कोशी प्रदेशको उद्यमशीलता वातावरणलाई थप ऊर्जाशील बनाएको अध्यक्ष सिग्देलले बताए ।
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, युवा उद्यमी मञ्च विराटनगरका संस्थापक अध्यक्ष सुयस प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायतले नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved