मोरङ । द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अवस्था २० वर्ष बितिसक्दा पनि सार्वजनिक हुन नसकेको भन्दै पीडित परिवारले राज्यसँग सत्य, न्याय र आफ्ना आफन्तको अवस्थाबारे जानकारी माग गरेका छन् ।
बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १६औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार विराटनगरमा आयोजित अन्तरक्रियामा कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना दर्जीले शान्ति सम्झौता भएको दुई दशक पुग्दासमेत बेपत्ता परिवारका माग सम्बोधन हुन नसकेको बताइन् ।
उनले न्यायका लागि निरन्तर आवाज उठाउन पीडित परिवार र सामाजिक संघसंस्थालाई आग्रह गर्दै प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत चिरञ्जीवी कोइरालाले आयोगमा उजुरी छुटेका पीडितलाई निवेदन दिन आग्रह गरे। उनले राज्यको अभिलेखमा छुटेका पीडितको विवरण संकलनका लागि सम्बन्धित आयोगसँग समन्वय गरिने बताए ।
बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रुपेश साहले ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि २० वर्षसम्म परिवारले आफ्ना आफन्तबारे जानकारी नपाएको गुनासो गरे ।
पीडित गुईवतीदेवी खवास, जानुका पोखरेल र निर्मला भगतले राहतभन्दा पनि बेपत्ता आफन्तको अवस्थाबारे सत्यतथ्य जानकारी आवश्यक रहेको बताए। कार्यक्रमपछि बेपत्ता परिवार र अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयअगाडि दीप प्रज्वलन गरी बेपत्ताहरूको स्मरण गरेका थिए ।
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved