शतप्रतिशत विद्यार्थी उत्तीर्ण, दीपिका दुगड प्रथम
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत एम.फिल. २०२५ ब्याचको प्रथम सेमेस्टरको परीक्षाफल प्रकाशित भएको छ। गत माघ ११ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यही फागुन १७ गते सार्वजनिक गरिएको हो।
शतप्रतिशत नतिजा र उत्कृष्ट अंक
यस पटकको परीक्षामा सहभागी सबै २० जना विद्यार्थीहरू उत्तीर्ण भई शतप्रतिशत नतिजा हासिल भएको छ।
परीक्षामा सहभागीमध्ये ५ जना विद्यार्थीले ‘ए प्लस’ र बाँकी विद्यार्थीले ‘ए’ ग्रेड प्राप्त गरेका छन्। कुल ३.९४ जीपीएका साथ दीपिका दुगड प्रथम भएकी छन् ।
आफ्नो सफलताप्रति खुसी व्यक्त गर्दै प्रथम भएकी दीपिका दुगडले भनिन्, “पूर्वाञ्चल विश्वविद्यालयमा एम.फिल. पढ्न पाउनु मेरा लागि गर्वको विषय हो। यो सफलता मेरो व्यक्तिगत मात्र नभई गुरुहरूको मेन्टरिङ र साथीभाइबीचको एकताको परिणाम हो।”
अर्का विद्यार्थी सरोज पौडेलले कार्यक्रमका मेन्टर एवं सिनियर प्राध्यापकहरूको उचित मार्गदर्शन, सामूहिक सहकार्य र अनुशासनले गर्दा नै यो नतिजा सम्भव भएको बताए।
नयाँ शैक्षिक सत्र २०२६ को तयारी
विश्वविद्यालयले सन् २०२६ का लागि नयाँ भर्ना आह्वान गरेकोमा उत्साहजनक सहभागिता देखिएको छ। तोकिएको कोटाभन्दा डेढ गुणा बढी आवेदन परेको विश्वविद्यालयले जनाएको छ।
नयाँ सत्रका लागि लिखित परीक्षा, सामूहिक छलफल र अन्तर्वार्ताको प्रक्रिया समेत सम्पन्न भइसकेको छ। एकेडेमिक क्यालेन्डर अनुसार पठनपाठन सुरु गर्नका लागि छिट्टै नतिजा सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाइने तयारी छ।
विज्ञहरूको भनाइ
व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विश्वविद्यालयको गहनाको रूपमा रहेको एमफिल. तथा पीएचडी कार्यक्रमको गरिमा बढ्नुमा यसमा आबद्ध प्रख्यात प्राध्यापकहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै, प्रा.डा. जीवन कुमार ढकालले पूर्वाञ्चल विश्वविद्यालयमा चाँडै नै अन्य विषयहरूमा पनि एमफिल र पीएचडी कार्यक्रम सुरु गर्ने योजना रहेको जानकारी दिए ।
निवर्तमान निर्देशक डा. उत्तमकुमार रेग्मीले शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको खबरले निकै खुसी लागेको बताए ।
विश्वविद्यालयले ६ महिनाको एक सेमेस्टरमा पठनपाठनका साथै समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने गरी शैक्षिक तालिकालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
View : 1173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved