विराटनगर । आफ्ना सन्तानका लागि सर्वस्व सुम्पिएका बुवाआमा जब बुढेसकालमा एक्लो र अपहेलित बन्छन्, तब उनीहरूको मनमा कस्तो चोट पर्ला?
यही गम्भीर र संवेदनशील विषयलाई समेटेर गीतकार नारायण खतिवडाले नयाँ गीत ‘भोक लाग्छ टारिदिन्छु’ सार्वजनिक गरेका छन् ।
नमस्ते नेपाल डिजिटल स्टूडियोमार्फत सार्वजनिक गरिएको यस गीतले नेपाली समाजमा बढ्दै गएको अमानवीय प्रवृत्ति र ज्येष्ठ नागरिकको कारुणिक अवस्थालाई उजागर गरेको छ।
गीतमा जीवनसाथीको साथ छुटेपछि र सन्तानले वास्ता नगरेपछि एक वृद्धले भोग्नु परेको मानसिक र शारीरिक पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। गीतका शब्दले भन्छन्:
“प्यारी पनि बिति गइन्, पानी देउ कसलाई भनुँ। भोक लाग्छ टारिदिन्छु, तिमीलाई किन दुःख दिनु।”
गीतकार खतिवडाका अनुसार, आजको समाजमा आफ्ना सन्तानलाई दुःख गरेर हुर्काउने र सक्षम बनाउने आमाबाबुलाई नै बुढेसकालमा बोझ मान्ने प्रवृत्ति बढ्दो छ।
धन-सम्पत्ति र स्वार्थका कारण आफ्नै जन्मदातालाई वृद्धाश्रम पठाउने वा घरभित्रै पनि अपमानजनक व्यवहार गर्ने सन्तानहरूका लागि यो गीतले एउटा दरिलो सन्देश दिएको छ।
आजको शिक्षित भनिएको समाजमा समेत ज्येष्ठ नागरिकप्रति न्यूनतम मानवीय संवेदना हराउँदै जानु दुःखद पक्ष हो। कतिपय अवस्थामा सम्पत्तिको लोभमा सम्मान गरे जस्तो गर्ने तर स्वार्थ पूरा नभएपछि घरबाटै निकाल्ने सम्मका अमानवीय हर्कत हुने गरेका छन्।
यस्तै तिरस्कारका कारण कैयौँ वृद्धवृद्धाहरू ‘भोक लाग्यो’ भन्न समेत डराउने र बरु मृत्यु नै निको मान्ने अवस्थामा पुगेका छन्। गीतले यस्तै तीतो यथार्थलाई शब्दमा उनेको छ।
लामो समयदेखि नेपाली गीत-सङ्गीत र साहित्यमा सक्रिय नारायण खतिवडाका यसअघि पनि थुप्रै चर्चित सिर्जनाहरू बजारमा आइसकेका छन्।
उनका शब्दहरूमा दीपा नारायण झा, कुन्ती मोक्तान, यम बराल, ईश्वर अमात्य, स्वरूपराज आचार्य जस्ता दिग्गजदेखि पछिल्लो पुस्ताका लोकप्रिय गायक-गायिकाहरू मेलीना राई, सहिमा श्रेष्ठ, सुरेशकुमार राई, दीपा राई लगायतले स्वर दिइसकेका छन्।
त्यस्तै, उहाँका गीतलाई शिलाबहादुर मोक्तान, आलोक श्री, महेश खड्का, दीपक शर्मा र लक्ष्मण शेष जस्ता स्थापित सङ्गीतकारहरूले सजाएका छन्। खतिवडाका ‘सम्झनाका पाइला’ र ‘बहार’ नामक कृतिहरू समेत प्रकाशित छन्।
समाजको उच्छ चेतना भएका थोरै मानिसले मात्र आफ्ना आमाबाबुलाई भगवान् सरह सम्मान गर्ने गरेको वर्तमान अवस्थामा यो गीतले हरेक सन्तानलाई आफ्नो कर्तव्य बोध गराउने विश्वास गरिएको छ।
View : 336
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved