विराटनगर । ताप्लेजुङ–पाँचथर क्षेत्रका नदीहरूमा आएको बाढीले चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउँदा कुल ५५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
इँवा र काबेली खोलामा गत शुक्रबार राति आएको बाढीले आयोजनाहरुको इन्टेक, बाँध, पाइपलाइन र विद्युत्गृह क्षेत्रमा समेत क्षति पुर्याएको हो ।
पाँचथरको अमरपुर सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएका चार आयोजनाबाट उत्पादन हुने विद्युत् पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।
प्रभावित हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजना हो ।
बाढीले आयोजनाको इन्टेक र बाँध क्षेत्रमा ठूलो परिमाणमा ढुंगा, लेदो, बालुवा र काठ थुपारेपछि उत्पादन रोकिएको अरुण काबेली पावर लिमिटेडले जनाएको छ ।
त्यसैगरी काबेली नदीमै सञ्चालित १० मेगावाट क्षमताको क्यास्केड जलविद्युत् आयोजना पनि प्रभावित भएको छ ।
बाढीले पानी प्रवेश गर्ने संरचना र विद्युत् उत्पादन प्रणालीमा क्षति पुर्याएपछि आयोजना बन्द गरिएको जनाइएको छ ।
यता पाँचथरको इँवा अर्थात् इन्द्रावती खोलामा सञ्चालित दुई आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।
९ दशमलव ९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजना तथा ९ दशमलव ७ मेगावाट अर्को आयोजनाको उत्पादन पनि पूर्ण रूपमा बन्द भएको छ ।
बाढीले इन्टेक क्षेत्रको बाँधमा ठुलो क्षति गरेको छ । पाइपलाइन र विद्युत गृह आसपासका संरचनामा समेत क्षति पुर्याएको आयोजनाले जनाएको छ ।
चार आयोजनाको उत्पादन क्षमता ५४ दशमलव ६ मेगावाट भएका कारण अहिले उत्पादन बन्द हुँदा नेपाल विद्युत् प्राधिकरणको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ ।
बाढीले दुवै जिल्लामा संचालनमा रहेका केही लघु जलविद्युत आयोजनामा समेत क्षति पुगेको जनाइएको छ ।
पूर्वी क्षेत्रमा उत्पादित विद्युत् अमरपुर सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएकाले यसले प्रसारण व्यवस्थापनमा समेत दबाब बढाएको प्राधिकरण स्रोतले जनाएको छ ।
रन अफ रिभरमा आधारित अधिकांश आयोजनामा ‘हेडवर्क्स’ अर्थात् पानी मोड्ने संरचना बढी प्रभावित भएका छन् ।
नदीको बहावमा निर्भर हुने भएकाले अचानक आएको बाढीले सबैभन्दा पहिले इन्टेक र डाइभर्सन संरचनामा असर पुर्याउने गरेको हो । जसका कारण विद्यूत उत्पादन बन्द भएको जनाइएको छ ।
यसपटकको बाढीले केवल उत्पादन बन्द मात्र गराएको छैन, आयोजनाको पुनः सञ्चालनमा समेत चुनौती थपिएको छ ।
२०८० सालको बाढीले ठुलो क्षति पुर्याएको इँवा खोला जलविद्यूत आयोजना मर्मतपछि पुनः संचालन भएको थियो । तर यसपटक फेरि हेडवर्क्समा क्षति पुग्दा आयोजनाको लागतमा प्रत्यक्ष दवाव बढेको छ ।
नदीमा थुप्रिएको लेदो र ढुंगा हटाउन समय लाग्ने तथा क्षतिग्रस्त संरचना मर्मत गर्न थप खर्च आवश्यक देखिएको छ ।
विज्ञहरूका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनामा अब केवल उत्पादन क्षमता होइन, विपद् सहन सक्ने संरचनात्मक क्षमता पनि प्रमुख मापदण्ड बन्नुपर्ने देखिएको हो ।
बाढी पहिरोले पाँचथरको याङवरक गाउँपालिका क्षेत्रमा पुल, सडक, खानेपानी आयोजना र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ । चार परिवार विस्थापित भएका छन् भने १५ घर जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ ।
View : 158
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved