विराटनगर । मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि फरार भएका मोटरसाइकल चालक १६ दिनपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–५, तेतरिया चोकस्थित विराटचोक–घिनाघाट सडक खण्डमा गत असोज २४ गते बिहान करिब ११ बजे मोटरसाइकलले पैदलयात्री ७० वर्षीया नरमाया त्रिताललाई ठक्कर दिएको थियो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले पूर्वबाट पश्चिमतर्फ बाटो काट्दै गरेकी त्रिताललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
मोटरसाइकलसहित चालक फरार भएपछि घाइते त्रितालको उपचारका क्रममा असोज २५ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी तेतरियाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो ।
घटनास्थलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने को.३ प ३४६ नम्बरको मोटरसाइकल र चालकको पहिचान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ग्रामथान गाउँपालिका–३, सिद्राहा झोसटोलका २६ वर्षीय अभिषेककुमार माझीलाई सोमबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
दुर्घटनापछि मोटरसाइकलका विभिन्न भाग फुटेको तथा कुच्चिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका माझीलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
View : 32
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved