Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजार पुर्‍याउन निर्यात रणनीति आवश्यक

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना र अवसरको पहिचानका लागि निर्यात रणनीति आवश्यक रहेको सहभागीहरूले बताएका छन् । 

कोशीका विभिन्न जिल्लामा उत्पादित मौलिक तथा स्थानीय वस्तुको पहिचान, निर्यात प्रवद्र्धन, बजार विस्तार तथा स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पु¥याउने विषयमा सोलुखुम्बु र ओखलढुंगामा आयोजित छलफलमा सहभागीहरूले निर्यात रणनीतिको आवश्यकताबारे चर्चा गरेका हुन् ।

कोशी प्रदेश सरकार, प्रदेश योजना आयोगको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा निर्यात प्रवर्द्धनका सम्भावित क्षेत्र पहिचान गरी विषयगत समूह बनाएर छलफलसमेत गरिएको थियो ।

कोशी प्रदेशमा कृषिजन्य उत्पादनतर्फ चिया, कफी, तरकारी तथा फलफूल, अलैंची, अदुवा, बेसार, सुपारी र मरिचलगायतका उत्पादनलाई निर्यातको सम्भावित क्षेत्रका रूपमा अघि सारिएको छ ।

त्यस्तै, जडीबुटी तथा प्राकृतिक उत्पादन, पर्यटन तथा आतिथ्यता, हस्तकला तथा निर्यातजन्य उद्यम, डेरी तथा मासुजन्य उत्पादनका साथै स्थानीय तहसँग सम्बन्धित विषयमा पनि छलफल भएको जनाइएको छ ।

सरोकारवालाहरूले मौलिक तथा स्थानीय वस्तुको गुणस्तर वृद्धि गरी व्यावसायीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले उत्पादनको बजार विस्तार, निर्यातका लागि आवश्यक पूर्वाधार निर्माण तथा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् ।

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र बजार सूचनासँगै आवश्यक पूर्वाधार तथा सरकारी सहजीकरण अपरिहार्य रहेको सहभागीहरूले बताए ।

उत्पादनको सम्भावना रहे पनि बजारको अभाव, ढुवानी समस्या, उच्च उत्पादन लागत, गुणस्तर प्रमाणीकरण तथा निर्यात प्रक्रियासम्बन्धी जटिलताले उद्यमीलाई चुनौती दिइरहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा स्थानीयस्तरमा उत्पादन हुने वस्तुको पहिचान गरी त्यसमा मूल्य अभिवृद्धि गर्न सके निर्यातमार्फत स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको थियो ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved