Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराट मेडिकल कलेजमा एआई अल्ट्रासाउन्ड मेसिन

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कृत्रिम बौत्तिकता (एआई) सक्षम जिई सिग्नेचर अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ । अस्पतालको दाबी अनुसार यो नेपालमै पहिलो  एआई सक्षम  जीई सिग्नेचर यूएसजी (अल्ट्रासाउण्ड) मेसिन हो । 

यस उपलब्धिसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै सहरमा पाउने भएका छन् ।

परम्परागत अल्ट्रासाउन्डको तुलनामा यो मेसिनमा जडान गरिएको  एआई प्रविधिले शरीरका भित्री अंगहरूको तस्वीर अत्यन्तै सूक्ष्म र स्पष्ट रूपमा प्रदर्शन गर्छ । 

यसमा रहेका एआई टुलहरूले अंगहरूको बनावट स्वतः पहिचान गरी स्वाचालित रूपमा नाप लिन सक्षम छन्, जसले मानवीय त्रुटिको सम्भावनालाई न्यूनतम बनाई सटिक रिपोर्ट सुनिश्चित गर्ने अस्पतालको भनाइ छ । 

यसका साथै एआई प्रविधिका कारण जाँच प्रक्रिया झण्डै ४० प्रतिशतसम्म छिटो हुने भएकोले बिरामीले रिपोर्टका लागि लामो समय प्रतीक्षा गर्नुपर्दैन ।

विशेषगरी  हाई–डेफिनेसन ३ डी, ४डी इमेजिङ सुविधाका कारण चिकित्सकहरूलाई रोग निदान र उपचारको सही निर्णय लिन सहज हुने अस्पतालको भनाइ छ ।

अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले भने, ‘विराट मेडिकल कलेज शिक्षण अस्पताल सधैं गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहदै आएको छ । यो एआई सक्षम  जीई सिग्नेचर युएसजी मेसिन सञ्चालनमा ल्याउन पाउनु हाम्रा लागि गर्वको विषय हो ।

अब पूर्वाञ्चलका बिरामीहरूले सटिक निदान र स्तरीय उपचारका लागि काठमाडौं वा विदेश धाउनु पर्दैन, त्यो सुविधा अब आफ्नै सहरमा उपलब्ध छ ।’

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved