Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

‘होटल हब’ बन्दैछन् कोशी तराईका सहर

तारे होटलहरू धमाधम खुलिरहेका छन् भने त्यस्तै सुविधासहितका होटल पनि झापा–मोरङमा थपिने क्रममा छन् ।
उद्‌घोष संवाददाता
४ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेशका झापा, मोरङसहितका सीमावर्ती जिल्लाका सहरहरू क्रमशः ‘होटल हब’ मा रूपान्तरण हुँदै गएका छन् । पछिल्लो समय  होटल व्यवसायको स्वरूप पनि फेरिँदै गएको छ । 

केही वर्षअघिसम्म सामान्य आवास र खानपानमा केन्द्रित होटल व्यवसाय अहिले भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, व्यापारिक गतिविधि र सम्भावित अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई लक्षित गर्दै ठूलो लगानीको क्षेत्रमा विस्तार भएको छ ।

केही वर्षकै बीचमा झापाको काँकडभिट्टा–धुलाबारीदेखि बिर्तामोड हुँदै मोरङको विराटनगरसम्म तारे होटलमा अर्बौँ रूपैयाँ लगानी थपिएको छ । कतिपय होटल सञ्चालनमा आइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् ।

‘सीमावर्ती सहरमा बढेको यो लगानीले होटल व्यवसाय मात्र विस्तार गरेको छैन,पर्यटनसँग जोडिएका अन्य आर्थिक गतिविधिको आधार पनि तयार पारेको छ,’ झापा धुलाबारीस्थित पाँच तारे होटल मेची क्राउनका प्रमुख सञ्चालक बलराम सापकोटाले भने । 

पछिल्लो पाँच –सात वर्षभित्रै कोशी प्रदेशभर होटल व्यवसायमा एक खर्ब रूपैयाँभन्दा बढी  लगानी भइसकेको व्यवसायीको भनाइ छ । त्यसमध्ये झापा, मोरङ र सुनसरीमा मात्रै पौने खर्ब रूपैयाँ लगानी पुगेको उनीहरू बताउँछन् । 

पूर्वी नेपालका सहरमा तारे होटल थपिनुको मुख्य आधार सीमापारिबाट आउने पर्यटक र ग्राहक हुन् ।  

पश्चिम बंगाल, बिहार, सिक्किम तथा पूर्वोत्तर भारतका विभिन्न सहरबाट नेपाल आउने पर्यटकमध्ये कतिपय क्यासिनो, आवास र मनोरञ्जनका लागि सीमावर्ती सहरमै बस्ने गरेका छन् । पछिल्लो समय बंगलादेशबाट समेत पर्यटक आउन थालेको व्यवसायीको भनाइ छ ।

सीमावर्ती क्षेत्रमा होटलको पूर्वाधार बढ्दै जाँदा भारतीय पर्यटकको नेपाल बसाइसँग जोडिएको व्यवसाय पनि विस्तार हुने अपेक्षा गरिएको छ । 

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम एजेन्ट्स (नाटा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठका अनुसार स्तरीय होटलको उपलब्धताले पर्यटकलाई छोटो समयमै फर्किनेभन्दा केही दिन बस्न प्रोत्साहित गरेको छ । 

‘स्तरीय होटल उपलब्ध भएपछि पर्यटक एक दिन आएर फर्किनेभन्दा केही दिन बस्ने चलन बढेको छ,’ उनले भने ‘कोशी प्रदेशको पर्यटनका लागि यो सुखद् संकेत हो । तर, रसुवा बाढीले यसलाई केही बिथोलेको अवस्था छ ।’ 

कोशी प्रदेशमा तारे होटलको सबैभन्दा धेरै संख्या झापामा छ । झापामा मात्रै अहिले तीन वटा पाँचतारे होटल सञ्चालनमा छन् । धुलाबारीमा पाँचतारे डिलक्स होटल मेची क्राउन सञ्चालनमा छ । 

होटलका सञ्चालक बलराम सापकोटाका अनुसार सीमावर्ती क्षेत्रमा स्तरीय होटलको अभाव देखिएपछि त्यसलाई लक्षित गरेर लगानी गरिएको हो । धुलाबारीबाट काँकडभिट्टा जाने बाटोमै पर्ने  इँटाभट्टामा गत वर्षदेखि अर्को पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आएको छ । 

सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले १ अर्ब ३० करोड रूपैयाँ लगानीमा यो होटल सञ्चालनमा ल्याएका हुन् ।

झापाकै बिर्तामोडमा ‘किङ्सबेरी’ पाँचतारे होटल सञ्चालनमा छ । यससँगै झापामा पाँचतारे होटलको संख्या तीन पुगेको छ । होटलमा लगानी गर्ने क्रम भने यतिमै रोकिएको छैन । 

धुलाबारीमै होटल इस्टर्न नेपाल प्रालिले करिब ९३ करोड ४० लाख रूपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । बिर्तामोडमा पनि अर्को पाँचतारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ । 

यसले झापामा सीमावर्ती बजार, भारतीय पर्यटक र व्यापारिक गतिविधिलाई आधार बनाएर होटल पूर्वाधार थपिने क्रम जारी रहेको देखाउँछ ।

मोरङको विराटनगरमा पनि तारे होटलको विस्तार तीव्र भएको छ । भारतीय होटल चेन लेमन ट्रीले विराटनगरबाट पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याइसकेको छ । 

नेपालमा लेमन ट्रीको यो तेस्रो होटल हो भने विराटनगरमा पहिलो । विराटनगर पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र हुनुका साथै भारतसँगको महत्वपूर्ण सीमावर्ती सहर पनि हो । यहाँको होटल व्यवसायमा व्यापारिक गतिविधिसँगै भारतीय ग्राहक र पर्यटकलाई लक्षित गरेर नयाँ लगानी थपिँदै गएको छ । 

होटल व्यवसायी भविशकुमार श्रेष्ठका अनुसार पूर्वका तारे होटलमा हालसम्म लगानी बढ्ने क्रम जारी छ । 

कोशी प्रदेशभर होटल व्यवसायमा एक खर्ब रूपैयाँ हाराहारी लगानी पुगेको छ । आधा दर्जन नयाँ पाँचतारे होटल सञ्चालनको क्रममा छन् । 

झापा, मोरङ र सुनसरीमा मात्रै पौने खर्ब रूपैयाँको लगानी भइसकेको व्यवसायीहरूको भनाइ छ । त्यसो त सुनसरीको इटहरीमा पनि सोल्टी इस्ट तारे होटल सञ्चालनमा छ भने मोरङको विराटचोक र झापाको दमकमा तारे होटल सुविधाको होटल नेपालीरिका सञ्चालनमा छ । 

पूर्वी नेपालमा तारे होटल विस्तारको अर्को महत्वपूर्ण आधार सीमावर्ती बजार हो । 

झापाको काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि काँकडभिट्टा र धुलाबारी पहिलो प्रमुख बजार हुन् । त्यहाँबाट बिर्तामोड हुँदै विराटनगरसम्म व्यापारिक तथा पर्यटकीय गतिविधिको ठूलो क्षेत्र जोडिन्छ । 

भारतीय पर्यटकका लागि होटल, क्यासिनो, मनोरञ्जन र आवासको मागले सीमावर्ती सहरमा ठूला होटलको सम्भावना देखाएको व्यवसायीहरू बताउँछन् । 

पश्चिम बंगाल, बिहार, सिक्किम र पूर्वोत्तर भारतका विभिन्न सहरबाट आउने पर्यटक पूर्वी नेपालका होटलका प्रमुख ग्राहक हुन् । 

धार्मिक तथा अन्य पर्यटकीय गतिविधिका लागि आउने भारतीय पर्यटकलाई केही दिन नेपालमै रोक्न सकिए होटल व्यवसायसँगै यातायात, रेस्टुरेन्ट, मनोरञ्जन र अन्य पर्यटन व्यवसायले पनि लाभ लिन सक्ने व्यवसायीहरूको भनाइ छ ।

तारे होटल विस्तारको प्रत्यक्ष प्रभाव रोजगारीमा पनि परेको छ । 

ठूला होटल सञ्चालनका लागि ठूलो जनशक्ति आवश्यक पर्ने भएकाले सीमावर्ती सहरमा होटल क्षेत्रले रोजगारीको नयाँ आधार बनाएको व्यवसायीहरू बताउँछन् । 

विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठका अनुसार कोशी प्रदेशका होटल क्षेत्रमा भएको लगानीसँगै ठूलो संख्यामा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । 

व्यवसायीहरूको अनुमानअनुसार प्रदेशभरका होटलमा करिब ३० हजारले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

होटल सञ्चालनमा प्रत्यक्ष रूपमा काम गर्ने जनशक्तिबाहेक होटलमा आउने ग्राहकसँग जोडिने यातायात, खाद्य तथा पेय पदार्थ, स्थानीय उत्पादन, मनोरञ्जन, पर्यटन गाइड, सरसफाइ र आपूर्ति प्रणालीमा समेत यसको प्रभाव पर्ने गरेको व्यवसायीहरूको भनाइ छ ।

झापादेखि विराटनगरसम्म सञ्चालनमा आएका र निर्माणाधीन होटलहरूको संख्या तथा लगानीले पूर्वी नेपाल होटल व्यवसायको पनि हब बनिरहेको देखाउँछ ।

View : 220

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved