विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरद्वारा आयोजित ‘खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा जाजरकोटका कवि सदाशय गौतम प्रथम भएका छन्।
देशैभरिका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको सो प्रतियोगितामा गौतमको ‘नयाँ युग रच्ने हामी नेपाली’ शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो।
यसैगरी, प्रतियोगितामा विराटनगरकी नानुमैया दाहालको कविता ‘म विर्खे कामी हुँ’ द्वितीय, काठमाडौंका सुशील पौडेलको कविता ‘मातृभूमिको आह्वान’ तृतीय भएका छन् भने झापाका निकेश डाँगीको कविता ‘भान्सा युद्ध’ ले सान्त्वना स्थान प्राप्त गरेको छ।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ महिनाभित्रै एक हप्ताको अन्तरालमा सम्पन्न गरेका दुई ठूला राष्ट्रिय कार्यक्रममध्ये यो साहित्यिक प्रतियोगिता र भव्य स्रष्टा सम्मान समारोह मुख्य आकर्षणका रूपमा सम्पन्न भएको हो।
सोही विशेष समारोहको अवसर पारेर नेपाली साहित्यको श्रीवृद्धि र समाज रूपान्तरणमा दीर्घकालीन एवं विशिष्ट योगदान पुर्याएबापत कोशी प्रदेशका तीन जना प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वलाई विशेष स्रष्टा सम्मान अर्पण गरिएको छ।
सम्मानित हुनेहरूमा प्रा.डा. टंक न्यौपाने, डा. बद्री विशाल पोखरेल र वसुन्धरा झा छन्। उनीहरूले साहित्य र समाजको गरिमा बढाउन खेलेको अतुलनीय भूमिकाको उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको हो।
चेतना संरक्षण प्रतिष्ठान, नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट प्राप्त सिर्जनाहरूको छनोट एवं निष्पक्ष मूल्याङ्कन प्राज्ञ विवश पोखरेल, हरि कट्टेल र तीला लेकाली सम्मिलित तीन सदस्यीय निर्णायक समितिले गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले पुरस्कृत कवि तथा सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गरिन्।
उनले साहित्य समाजसँगै राष्ट्र रूपान्तरणको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यसले समाजका विकृति–विसङ्गति, सुशासन र युगको मागलाई सशक्त रूपमा समेट्ने विचार व्यक्त गरिन्।
आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारीको भूमिका बचत तथा ऋण प्रवाहमा मात्र सीमित रहन नहुने प्रष्ट पार्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ कला, साहित्य र संस्कृतिलाई व्यावसायिकतासँगै अगाडि बढाइएको बताए।
उनले यसअघि गत जेष्ठ १६ र १७ गते देशभरिका राष्ट्रसेवक सहकारी संस्थाहरूबीच साझा समस्या, समाधानका उपाय, सम्भावना र चुनौतीका विषयमा वृहत् राष्ट्रिय छलफल कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिए।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved