विराटनगर । विराट स्पोर्ट्स जोनको आयोजनामा जारी प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको दोस्रो दिन बिहीबार सात खेल सम्पन्न भएका छन् ।
८ ओभरको स्वरुपमा सञ्चालन भइरहेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, जेसी बाल सदन, राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल, कान्तिपुर सेकेन्डरी स्कुल, ग्रीन पिस एकेडेमी, कोशी विद्या मन्दिर र श्री पोखरिया सेकेन्डरी स्कुल विजयी भएका छन् ।
दोस्रो दिनको पहिलो खेलमा आदर्श सेकेन्डरी स्कुलले लर्ड बुद्ध निकेतनलाई ३६ रनले पराजित गरेको छ ।
आदर्शले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लर्ड बुद्ध निकेतनले ८ ओभरमा ५ विकेट गुमाएर ५३ रन मात्रै बनाउन सक्यो । आदर्शका गौरव राय प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा जेसी बाल सदनले बुढानिलकण्ठ सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्यो । बुढानिलकण्ठ ५ दशमलव ३ ओभरमा २३ रनमै समेटिएपछि २४ रनको लक्ष्य जेसी बाल सदनले ३ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । जेसीका आशुतोष गुरागाईं प्लेयर अफ द म्याच बने ।
तेस्रो खेलमा राइजिङ नेपाल इङ्ग्लिस बोर्डिङ स्कुलले सेन्ट जोसेफ्स सेकेन्डरी स्कुललाई ६८ रनले पराजित गर्यो । राइजिङ नेपालले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर १४० रनको विशाल योगफल तयार गरेको थियो । जवाफमा सेन्ट जोसेफ्सले ८ ओभरमा ४ विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो ।
राइजिङ नेपालका ड्यानिश राजाले ४५ बलमा अविजित ११० रन प्रहार गर्दै प्रतियोगिताकै पहिलो शतक पूरा गरे । उनको उत्कृष्ट प्रदर्शनसँगै उनी प्लेयर अफ द म्याच घोषित भए ।
चौथो खेलमा कान्तिपुर सेकेन्डरी स्कुलले विनायक बोर्डिङ सेकेन्डरी स्कुललाई ९ रनले पराजित गर्यो । कान्तिपुरले ८ ओभरमा ५ विकेट गुमाएर ६६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको विनायक ७ दशमलव २ ओभरमा ५७ रनमा अलआउट भएपछि कान्तिपुर विजयी भयो । कान्तिपुरका सुजित यादव प्लेयर अफ द म्याच बने ।
पाँचौँ खेलमा ग्रीन पिस एकेडेमीले पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुललाई ६४ रनले पराजित गर्यो । ग्रीन पिसले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल विद्या सदन ६ ओभरमा ६ विकेट गुमाएर ३९ रनमा सीमित भयो । ग्रीन पिसका मेराज शेख प्लेयर अफ द म्याच घोषित भए ।
छैटौँ खेलमा कोशी विद्या मन्दिरले देदराज सेवालीदेवी टोडी डीएभी केडिया विश्वभारतीलाई १३ रनले पराजित गर्यो । कोशी विद्या मन्दिरले ८ ओभरमा ५ विकेट गुमाएर ८६ रन बनाएको थियो । जवाफमा डीएभी केडिया विश्वभारतीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । कोशी विद्या मन्दिरका प्रिन्स दास प्लेयर अफ द म्याच बने ।
दिनको अन्तिम खेलमा श्री पोखरिया सेकेन्डरी स्कुलले मोडर्न एरा इङ्ग्लिस स्कुललाई २६ रनले पराजित गर्यो । पोखरियाले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनाएको थियो । जवाफमा मोडर्न एराले ८ ओभरमा २ विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । पोखरियाका अर्बिन शाह प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता शुक्रबार पनि निरन्तर सञ्चालन हुने आयोजक विराट स्पोर्ट्स जोनले जनाएको छ ।
View : 19
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved